दसैँमा समेत तलब नपाएपछि त्रियुगा नगरपालिकामा शिक्षकहरूको धर्ना

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

उदयपुरको त्रियुगा नगरपालिकाअन्तर्गत सामुदायिक विद्यालयमा कार्यरत केही शिक्षक–कर्मचारीहरूले दसैँमा समेत तलब नपाएपछि नगर कार्यालयमा धर्ना दिएका छन् ।  

यहाँका शिक्षकहरूले केही महिनाअघि नगरपालिकाले गरेको अन्यायपूर्ण सरुवाको विरोधमा उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए । अहिले दसैँमा तलब नपाएपछि ती पीडित शिक्षक–कर्मचारीहरूले बिहीबार संयुक्त अपिल जारी गर्दै आफूहरूको कारण देखाउँदै सबै शिक्षक–कर्मचारीको तलब भत्ता र दसैँ खर्च रोकिएको भनी फैलाइएको प्रचारको खण्डन गर्दै नगरपालिका घेराउ गरेका हुन् । 

शिक्षकहरुको संयुक्त अपिलमा भनिएको छ– अदालतको कुनै आदेशले तलब रोक्न भनेको छैन । कतिपय व्यक्तिहरूले मूल विषयलाई बाङ्गो पार्दै हामीमाथि दोषारोपण गर्दै झूठो हल्ला फैलाइरहेका छन्, जुन पूर्ण रूपमा गलत हो । 

शिक्षकहरूका अनुसार गत चैत ०८१ मा त्रियुगा नगरपालिकाले शिक्षकहरूको सरुवा गरेको थियो । प्रभावित शिक्षकहरूले सो निर्णय दरबन्दी मिलानको मापदण्डविपरीत, अमानवीय ढंगले गरिएको भन्दै उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । 

अदालतले १५ वैशाख ०८२ मा उक्त निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

शिक्षकहरूको अपिलमा उल्लेख छ– उच्च अदालतका आदेशमा कतै पनि सरुवामा परेका वा नपरेका कुनै शिक्षक–कर्मचारीको तलब रोक्नुपर्ने भनिएको छैन । 

पीडित शिक्षकहरूले अवहेलना मुद्दा दायर गर्नुको कारणसमेत सार्वजनिक गरेका छन् । उनीहरूले भनेका छन्, ‘बालमन्दिर मावि बोक्सेका केही शिक्षकको तलब अदालतको आदेश विपरीत निकासा गर्ने र समस्याग्रस्त शिक्षकलाई सहज तलब निकासा नगरी अदालतको आदेश उलङ्घन गर्ने प्रवृत्तिले थप समस्या निम्त्यायो, त्यसपछि मात्र हामी अवहेलना मुद्दामा जान बाध्य भयौं ।’

संघीय सरकारबाट आउने शिक्षकको तलबभत्ता रोक्ने कार्यलाई उनीहरूले अन्यायपूर्ण भनेका छन् । अपिलमा भनिएको छ, ‘यदि कसैको दुराशययुक्त सोचले अघि बढ्ने हो भने पनि मुद्दामा सामेल शिक्षकको मात्र तलब रोक, हामी अन्तिम फैसलासम्म कुर्न तयार छौँ । तर, हामीलाई निहुँ पारेर बाँकी निर्दोष शिक्षकको तलब रोक्नु कानुन विपरीत हो ।’ 
 

सुझावित समाचार