विपिन रिहाइको पहल, आमा र बहिनी अमेरिकातर्फ

बिहिबार, ९ असोज, २०८२
डिजिटल संस्करण

इजरायलको किबुज आलुमिमबाट २३ असोज ०८० मा हमासको अपहरणमा परेका विपिन जोशीको रिहाइ पहलका लागि परिवारजन अमेरिका प्रस्थान गरेका छन् । हमासको अपहरणमा परेका इजरायलका अन्य व्यक्तिका परिवारजनसँगै उनीहरू न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका पदाधिकारीसँग भेटवार्तालगायत कार्यक्रममा सहभागी हुने भएका छन् । 

विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी बुधबार करिब एक साताका लागि अमेरिका प्रस्थान गरेका हुन् । उनीहरूको हवाई टिकट र बसोबासलगायतको सबै व्यवस्था इजरायलस्थित परिवारहरूसँग समन्वय गर्ने संस्थाले व्यहोरेको छ । न्युयोर्कमा रहँदा उनीहरूलाई आवश्यक सहयोग नेपाली नियोगले पनि गर्नेछ । 

‘विपिन जोशीको परिवारजन अमेरिका जानुभएको छ । उहाँहरूको भ्रमणका लागि परराष्ट्र मन्त्रालयले समन्वय गरेको छ । विपिन रिहाइको विषयसँग सम्बन्धित उहाँहरूका हरेक कार्यक्रममा आवश्यक समन्वय र सहयोग गरिदिन नेपाली स्थायी नियोग न्युयोर्कलाई निर्देशन दिएका छौँ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले भने ।

विपिनका परिवारजनले सोमबार परराष्ट्रसचिव अमृतबहादुर राईसँग भेट गरेका थिए । राईले उनीहरूलाई आवश्यक सबै सहयोग गर्न निर्देशन दिएको क्षेत्रीले बताए । उनीहरू यसअघि भदौमा इजरायल भ्रमणमा गएर त्यहाँका शीर्ष नेतालगायत सरोकारवाला सबैसँग भेटवार्ता गरेका थिए । 

उनीहरू यतिवेला राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय समुदायलाई अपिल गर्ने उद्देश्यले अमेरिका गएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले बुधबार जारी गरेको विज्ञप्तिअनुसार परिवारजनले न्युयोर्कस्थित राष्ट्रसंघका पदाधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । ‘उहाँहरूको अमेरिका बसाइमा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् र राष्ट्रिय समन्वय परिषद् अमेरिकाले प्रत्यक्ष सहजीकरण गर्नेछ,’ एनआरएनएको विज्ञप्तिमा छ ।

एनआरएनएका क्षेत्रीय संयोजक वेद बस्नेत, एनसिसी अमेरिका अध्यक्ष विकास उप्रेती, आइसिसी सदस्य विष्णु रानामगर, महेश खड्कालगायतको सक्रियतामा उनीहरूलाई सहयोग हुनेछ । इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा गरेको भीषण सैन्य अपरेसनसँगै त्यहाँ रहेका विपिनलगायत २० जना जीवित युद्धबन्दीको भविष्य अनिश्चित भएको छ । 

सुझावित समाचार