आन्दोलनका क्रममा कारागारबाट फरार भई पक्राउ परेका कैदीबन्दीमाथि कारबाही गरिँदै

अझै फरार छन् करिब आठ हजार कैदीबन्दी, स्थानीय तहबाट समेत भागेका कैदीको निगरानी हुँदै

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण
आन्दोलनका क्रममा कारागारबाट फरार भई पक्राउ परेका कैदीबन्दीमाथि कारबाही गरिँदै

२४ भदौमा कैलाली कारागारबाट भाग्दै गरेका कैदीबन्दी । तस्बिर : तेजराज भट्ट/नयाँ पत्रिका

जेन–जी आन्दोलनका क्रममा फरार कैदीबन्दीविरुद्ध कारागार व्यवस्थापन ऐन, २०७९ अनुसार कारबाही सुरु गरिएको छ । सूचना जारी गर्दा पनि सम्पर्कमा नआएपछि उनीहरूविरुद्ध कारबाही थालिएको हो ।प्रहरीका अनुसार पक्राउ गरी कारागार फर्काइएका कैदीबन्दीको हकमा यो नियम कडाइका साथ लागू गरिएको छ । स्वस्फूर्त कारागार फर्किएका कैदीबन्दीको हकमा भने यो लागू गरिएको छैन । फरारमध्ये हालसम्म ६ हजार ९२८ कैदीबन्दी कारागार फर्किसकेका छन् । जसमध्ये झन्डै ५० प्रतिशत कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ भने बाँकी आफैँ कारागार फर्किएका हुन् । 

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले पक्राउ गरी कारागार ल्याइएका कैदीबन्दीको हकमा कानुनअनुसार नै कारबाही हुने बताए । ‘फरार कैदीबन्दीको हकमा कारागार फर्कन सूचना जारी गरिएको थियो, त्यसमध्ये कति आफैँ फर्किए, कतिलाई पक्राउ गरियो । आफैँ फर्किएकाको हकमा साबिककै सजायले निरन्तरता पाउँछ । तर, पक्राउ परेकाको हकमा भने कारगार व्यवस्थापन ऐन, २०७९ अनुसार कारबाही हुन्छ । यो प्रक्रिया सुरु भइसकेको छ,’ उनले भने ।

ऐनअनुसार कुनै पनि कैदीबन्दी कारागारबाट भागे वा भाग्ने उद्योग गरेमा पाँच वर्ष कैद वा ५० हजार रुपैयाँसम्मको जरिवाना र दुवै सजाय हुन सक्नेछ । उक्त ऐनको दफा ४९ को उपदफा १ (ख)मा भनिएको छ, ‘कारागारबाट भागेमा वा भाग्ने उद्योग गरेमा पाँच वर्षसम्म कैद वा ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’ त्यस्तै, कुनै बन्दीलाई भगाएमा वा त्यस्तो उद्यगोमा संलग्न भएमा पनि घटनामा संलग्न व्यक्तिलाई तीन वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्छ । सोही दफाको उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै बन्दीलाई भगाएमा वा भगाउने उद्योग गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।’

कारागार व्यवस्थापन विभागका अनुसार २४ भदौमा मुलुकका २८ कारागारबाट १४ हजार ५५६ कैदीबन्दी फरार भएका थिए । विभागले २८ भदौमा सूचना सार्वजनिक गरी कैदीबन्दीलाई कारागार फर्कन सूचित गरेको थियो । तर, फरारमध्ये अझै सात हजार ६२७ कैदीबन्दी कारागार फर्किएका छैनन् । सूचनापछि कारागार नफर्किएका कैदीबन्दीको हकमा ऐनअनुसार नै कारबाही अघि बढ्ने विभागका महानिर्देशक लीलाप्रसाद शर्माले बताए । ‘फरार कैदीबन्दीलाई जतिसक्दो चाँडो कारागार फर्कन भनेका थियौँ, केही आफैँ फर्के, केही पक्राउ परे । अझै झन्डै आधा कैदीबन्दी फरार छन् । नफर्किएका कैदीबन्दीको हकमा कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने ।

कैदीबन्दीको विवरण सबै निकायमा पठाइयो
विदेश भाग्न सक्ने देखिएपछि विभागले फरार भएका सबै कैदीबन्दीको विवरण अध्यागमन विभागमातहतका सबै कार्यालयमा पठाएको छ । मुलुकका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पनि उनीहरूको विवरण पठाइएको छ । जिल्ला प्रशासन कार्यालयले मातहतका सबै स्थानीय तहमा प्राप्त विवरण सर्कुलेट गरेको विभागका महानिर्देशक शर्माले बताए । ‘फरार कैदीबन्दीको सबै विवरण अध्यागमन कार्यालय, सिडिओ कार्यालय, स्थानीय तहहरूमा पठाइसकिएको छ । विदेश भाग्न सक्ने देखिएपछि उनीहरूका विवरण अध्यागमन पठाइएको हो । तत्काल पक्राउ गर्न उनीहरूका विवरण सिडिओ कार्यालय र स्थानीय तहमा पठाइएको हो,’ उनले भने ।

विभागका अनुसार नफर्किएका कैदीबन्दीविरुद्ध स्थानीय तहबाट समेत निगरानी भइरहेका छन् । कतिपय कैदीबन्दी स्थानीय तहकै सूचनापछि पक्राउ परेको विभागको दाबी छ । सूचना प्राप्त हुन साथ पक्राउका लागि सुरक्षाकर्मी परिचालन गर्ने वातावरण बनाउन गृह मन्त्रालयले मातहतका सबै सिडिओ कार्यालयहरूलाई निर्देशन गरेको छ । प्रहरीले पनि सोहीअनुसार सुरक्षाकर्मी परिचालन गर्न मातहतका जिल्ला प्रहरी कार्यालयहरूलाई निर्देशन दिएको छ । ‘फरार कैदीबन्दी पक्राउ गर्न प्रहरीले आवश्यक एक्सन सुरु गरिसकेको छ । भाग्न सक्ने स्थानमा प्रहरीले निगरानी बढाएको छ,’ प्रहरी प्रवक्ता डिआइजी घिमिरेले भने ।

नेपाल प्रहरीका प्रवक्ता डिआइजी विनोद घिमिरे भन्छन्–  फरार कैदीबन्दीको हकमा कारागार फर्कन सूचना जारी गरिएको थियो, त्यसमध्ये कति आफैँ फर्किए, कतिलाई पक्राउ गरियो । आफैँ फर्किएकाको हकमा साबिककै सजायले निरन्तरता पाउँछ । तर, पक्राउ परेकाको हकमा भने कारगार व्यवस्थापन ऐन, २०७९ अनुसार कारबाही हुन्छ । यो प्रक्रिया सुरु भइसकेको छ ।

नक्खु कारागारबाट भागेका कैदीले गरे श्रीमतीको हत्या
२४ भदौमा नक्खु कारागारबाट फरार भएका कैदीबन्दी सन्तबहादुर तामाङले श्रीमतीको हत्या गरेका छन् । काभ्रको पनौती नगरपालिका–१२ कलाँतीका ३६ वर्षीय तामाङ ३० वर्षीया श्रीमती मनीषा तामाङको हत्या गरी फरार भएका हुन् । तामाङ नक्खु कारागारबाट फरार भएका थिए । जेन–जी आन्दोलनका क्रममा कारागार फोडिएपछि उनी रास्वपा सभापति रवि लामिछानेसँगै फरार भएका थिए ।

फरार भएकै दिन घर पुगेका उनको श्रीमती मनीषासँग विवाद भयो । सोही क्रममा उनले कुटपिट गरे । उनको रिस त्यतिमै थामिएन, मनीषाको हत्या गरेर घर पछाडि खाल्डोमा शव गाडेर फरार भए । मनीषा एकाएक बेपत्ता भएपछि उनको सोधीखोजी भयो । यही क्रममा उनको शव घरपछाडि खनिएको खाल्डोमा गाडिएको अवस्थामा फेला पर्‍यो । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कमल शाहले नक्खु जेलबाट फरार भएका कैदीले श्रीमतीको हत्या गरेको र त्यसपछि फरार भएको बताए । ‘गत २४ भदौमा नक्खु कारागारबाट फरार कैदीले श्रीमतीको हत्या गरेको खुलेको छ । घटनालगत्तै उनी फरार भएका छन् ।

उनको खोजी हुँदै छ । सूचना संकलन भइरहेका छन्,’ उनले भने । प्रहरीका अनुसार फरार तामाङ जबर्जस्ती करणी उद्योगमा जेल परेका थिए । कसुर प्रमाणित भएका उनको कैद भुक्तान गर्न एक महिना मात्रै बाँकी थियो । उनीविरुद्ध तीन वर्ष कैद सजाय ठहर भएको थियो । 

 भिआइपी बन्दी जो अझै फर्किएनन्
सुन्धारास्थित केन्द्रीय कारगारबाट फरारमध्ये १२ सय कैदीबन्दी कारागार फर्किसकेका छन् । तर, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी अझै जेल फर्किएका छैनन् । उनी २४ भदौमा केन्द्रीय कारागारबाट फरार भएका थिए । चौतर्फी आलोचना भएपछि आफैँ जेल फर्कने भन्दै उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्षदेखि पुर्पक्षका लागि कारागारमा छन् । सोही कसुरमा जेलमा रहेका पूर्वसचिव टेकनारायण पाण्डे पनि फर्किएका छैनन् । उनी पनि रायमाझीसँगै कारागारबाट फरार भएका थिए । 

सुन्धारास्थित जगन्नाथ देवल (केन्द्रीय कारागार) कारागार कार्यालयका जेलर कृष्ण कटुवालले रायमाझी र पाण्डे जेल नफर्केको बताए । ‘कारागारबाट ३४ सयजति कैदीबन्दी फरार भएका थिए, त्यसमध्ये ११ सयजति फर्किएका छन् । बाँकी फर्किएका छैनन् । रायमाझी र पाण्डेले केही दिनमै फर्कने भन्नुभएको छ,’ उनले भने ।

फरार हुनेमा ३८ किलो सुन तस्करीका मुख्य नाइके चूडामणि उप्रेती (गोरे) पनि छन् । उनी कहाँ छन् भन्ने अझै खुलेको छैन । नक्खु कारागारबाट फरार पूर्वराज्यमन्त्री सञ्जय टकलालाई भने सेनाले पक्राउ गरेको थियो । उनी १२ वर्षदेखि नक्खु कारागारमा थिए । कारागारमा आगजनी भएपछि उनी फरार भएका थिए । जन्मकैदको सजाय भोगिरहेका उनले जनकपुर पुगेर भिडियो सन्देश नै सार्वजनिक गरेका थिए । १८ वैशाख ०६९ मा जनकपुरको रामानन्द चोकमा भएको विस्फोटमा उनी दोषी ठहर भएका थिए । घटनामा पाँचजनाको ज्यान गएको थियो । 

सुझावित समाचार