तत्काल महाधिवेशन गर्ने गगन–विश्वको प्रस्तावमा संस्थापन पक्षको प्रतिवाद

सोमबार, ६ असोज, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा अस्पतालमै उपचाररत रहँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी पुनर्गठनको प्रस्ताव उठाएपछि कांग्रेसभित्र हलचल देखिएको छ ।संस्थापन पक्ष र पूर्वपदाधिकारीहरूले संकटको समयमा संवेदना र परिपक्वता नदेखाएको आरोप लगाउँदै महामन्त्रीद्वयको प्रस्तावको प्रतिवाद गरेका छन् ।

आइतबार पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, शशांक कोइराला, पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वसहमहामन्त्री डा. प्रकाशशरण महत सहभागी थिए । उनीहरूले दुई महामन्त्रीको प्रस्तावले पार्टीमा विवाद सिर्जना गर्ने भन्दै त्यसलाई अस्वीकार गरेका हुन्। 

पार्टीलाई जोगाउन विशेष महाधिवेशन गरी नेतृत्व परिवर्तन गर्नुपर्ने थापा र शर्माले प्रस्ताव गरेका छन् । शुक्रबारको कार्यसम्पादन समिति बैठकमै विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने थापा–शर्माको प्रस्ताव आएको थियो, जसलाई बैठकले अस्वीकार गरेको थियो । 

बैठकपछि सिटौलाले संकटको वेला पार्टीभित्र झगडा होइन, एकता जरुरी रहेको प्रतिक्रिया दिए । ‘देशै खरानीबाट उठिरहेका वेला पार्टी सम्हाल्ने दुईजना महामन्त्री मात्र किन हतारिनुभयो भन्ने पार्टीपंक्तिमा अहिले स्वाभाविक प्रश्न उठिरहेको छ,’ सिटौलाले नयाँ पत्रिकासँग भने, ‘यस्तो संकटका वेला झगडा होइन, मिलेर अगाडि बढ्नुपर्छ, उहाँहरूले उठाएको विषय नियमित महाधिवेशनबाट सम्बोधन गर्नुपर्छ ।’

उनीहरूको संवाद सकिएलगत्तै प्रवक्तासमेत रहेका डा. महतले पत्रकार सम्मेलन आयोजना गर्दै महामन्त्रीद्वयको योजना र अभिव्यक्तिको प्रतिवाद गरेका थिए । ‘अहिले हामी सबै एक भएर आफ्ना कमी–कमजोरी हटाउने र आन्तरिक एकता बलियो बनाउने समय हो । र, घाउ भएको वेलामा नुन छर्ने प्रवृत्ति देखिएको छ,’ उनले भने, ‘अभिभावकमाथि सांघातिक प्रहार हुँदा हामी उपचार हुँदासम्म पनि पूरा पर्खन सक्दैनौँ ? आकाश नै झरिहाल्छ ?’ 

सुझावित समाचार