- साउदी प्रो लिगबाट राम्रो प्रस्ताव आइरहँदा डेभिड बेकह्यामको लगानी रहेको इन्टर मियामी लियोनल मेसीलाई क्लबमै राख्ने तयारीका साथ अगाडि बढिरहेको छ
इन्टर मियामीले अर्जेन्टिनी फुटबलर लियोनल मेसीलाई थप एक वर्ष मेजर लिग सकर (एमएलएस)मै राख्ने योजना बनाएको छ । इंग्लिस फुटबलर डेभिड बेकह्यामको लगानीमा रहेको इन्टर मियामीले सन् २०२६ सम्म मेसीसँग सम्झौता गर्ने तयारीका साथ अगाडि बढेको एजेन्सीले जनाएको छ । सन् २०२३ मा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट अप्र्रत्याशित रूपमा मेसी इन्टर मियामी पुगेका थिए । अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा विश्वकप आयोजना गर्दै छन् ।
मियामीले विश्वकपको ब्रान्डिङ गर्ने उद्देश्यले पनि मेसीसँगको सम्झौता थप्न लागेको एजेन्सीले उल्लेख गरेको छ । मियामीसँगको सम्झौता सकिन लाग्दा मेसीलाई साउदी अरेबियन क्लबहरूले राम्रो प्रस्ताव पठाइरहेको गल्फ एजेन्सीले जनाएका छन् । यद्यपि, मेसी भने अमेरिकामै रमाइरहेका छन् । फिफा विश्वकपको साबिक विजेता अर्जेन्टिनाका कप्तान मेसीले पनि अमेरिकामा थप समय बिताउने चाहना राखेका छन् । यसै कारण उनका परिवार अहिले अमेरिकामै छन् ।
कीर्तिमानी रूपमा आठपटकका बालोन ‘डी’ अर विजेता मेसीसँगको नयाँ सम्झौता गर्दै इन्टर मियामी अगाडि आउनेछ । यसपटक मेसीको पारिश्रमिक बढ्न सक्छ । यद्यपि, इन्टर मियामीमा आबद्ध विदेशी खेलाडीमध्ये सर्वाधिक पारिश्रमिक पाउने खेलाडी उनी नै हुन् । यसैबिच साउदी प्रो लिगमा आबद्ध अल अहिलले मेसीलाई विश्व कीर्तिमानी रकममा भित्र्याउन उनका एजेन्टसमक्ष प्रस्ताव प्रस्तुत गरेको छ । मेसीलाई कति रकमको प्रस्ताव पठाएको भन्ने केही उल्लेख छैन । तर, उनी साउदी अरेबिया पुगे हालसम्मकै कीर्तिमानी सम्झौता हुनेछ । सन् २०२३ सम्म पिएसजीबाट बाहिर्गमन हुने क्रममा पनि साउदी अरेबियाका क्लबहरूले उनलाई भित्र्याउन कसरत गरेका थिए ।
तर, मेसीले युरोपियन फुटबल छाडेर अमेरिकन जीवनशैली पछ्याउन बेकह्यामको प्रस्ताव नकार्न सकेनन् । बेकह्यामकै एक वचनमा उनी अमेरिका पुगेका थिए । इन्टर मियामीको पहिलो सिजनमै मेसीले उत्कृष्ट प्रदर्शन गरे । इन्टर मियामीमा उनको हालसम्मको प्रदर्शन बिग्रेको छैन । उनले इन्टर मियामीमा पहिलो उपाधिका रूपमा सन् २०२३ मा लिग्स कप जितेका थिए । इन्टर मियामीबाट ४६ खेल खेल्दा मेसीले ४१ गोल र २२ असिस्ट गरेका छन् ।
मेसीको वार्षिक पारिश्रमिक १५० मिलियन डलर
मेसीले इन्टर मियामीबाट वार्षिक एक सय ५० मिलियन अमेरिकी डलर पारिश्रमिक थाप्छन् । मेसीले थप एक वर्ष सम्झौता नवीकरण गर्दा उनको यो वार्षिक पारिश्रमिक बढ्ने एपीले जनाएको छ । ‘अहिले मेसीले प्रतिवर्ष मियामीबाट एक सय ५० मिलियन अमेरिकी डलर लिने गरेका छन् । दुई पक्षबिच सम्झौता हुँदा वार्षिक पारिश्रमिक पनि बढ्ने सम्भावना छ,’ एपीले भनेको छ, ‘इन्टर मियामी रहने वा नरहने निर्णय मेसीकै हातमा छ ।’ मेसीको आगमनपछि अमेरिकामा फुटबल क्रेज बढेको छ । पहिलो सिजनमा उनको खेल हेर्न प्रत्येक रंगशाला फुलहाउस हुन्थ्यो । दुई वर्षको अवधिमा उनले इन्टर मियामीलाई दुई प्रमुख उपाधि दिलाएका छन् । मियामीले मेसीको ब्रान्डिङ गरी प्र्रत्येक खेलबाट राम्रो आम्दानी गरिरहेको छ ।
गत वर्ष इन्जुरीको समस्या
गत वर्ष मेसीले इन्टर मियामीबाट खासै प्रतिस्पर्धा गर्न पाएनन् । विशेषत: चोटका कारण उनी बढीजसो समय मैदानबाहिर नै बसे । साथसाथै राष्ट्रिय फुटबल टोलीको ड्युटी निर्वाह गर्दा पनि इन्टर मियामीमा उनले धेरै खेल गुमाए । मेसीको आगमनसँगै मियामीमा बार्सिलोनाका पूर्वखेलाडी जोडी अल्बा, सर्जियो बुस्केट तथा लुइस सुआरेज भित्रिएका थिए । कुनै समय यी सबै खेलाडीले बार्सिलोनाबाट एकसाथ खेल्ने गरेका थिए ।