पानामाको जंगलमा आप्रवासीले भोग्छन् भयावह पीडा

यो बाटोमा पार गरेका कुनै एकजना व्यक्ति भेटिँदैनन्, जसले बाटोमा बेवारिसे अवस्थाका शव नदेखेका हुन्

सोमबार, ९ भदौ, २०८२
डिजिटल संस्करण

गत जनवरीमा डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाको कमान्ड दोस्रोपटक सम्हाल्नुभन्दा ठिक अघि ट्रम्पका भावी ‘बोर्डर जार’ टम होमनले ट्रम्प प्रशासनले ‘राष्ट्रिय सुरक्षा’का लागि कुख्यात ‘ड्यारियन ग्याप’ बन्द गर्ने घोषणा गरे । ‘ड्यारियन ग्याप’ पानामा र कोलम्बियाबिच पर्ने घना जंगल क्षेत्र हो । ९६ किमिदेखि १०६ किलोमिटरबिचको लम्बाइमा फैलिएको यो जंगलको धेरै भाग पानामा पर्ने भएकाले यसलाई ‘पानामाको जंगल’ पनि भन्ने गरिन्छ । 

धेरै वर्षदेखि विश्वका लाखौँ विपन्न मानिसहरूका लागि अमेरिकासम्म पुग्ने प्रमुख मार्ग रहँदै आएको छ, ड्यारियन ग्याप । अझ, विकासोन्मुख देशका हजारौँ नागरिकका लागि अमेरिकाको शरणार्थीको हैसियत दिलाउने सम्भावना भएको एक मात्र मार्ग हो यो । आफ्नो गरिबीको कारणले ‘वैध रूपमा’ अमेरिका जाने सबै अवसरबाट वञ्चित गरिएकाहरू विकल्प खोज्दा अपराधी करार हुने गर्छन् । 

यो मार्गबाट अमेरिका हिँड्नेहरूले धेरै घातक अवरोध सामना गर्ने गर्छन् । ठुला नदीको बलियो धार, ठाउँठाउँमा हिलाम्य भास र अचानक आउने ठाडो–गहिरो खोँचहरू त छँदैछ । यस भेगमा आप्रवासीलाई लुट्न सक्रिय सशस्त्र समूहले जुनसुकै आक्रमण गर्ने र बन्धक बनाउने जोखिम पनि उत्तिकै छ । पर्याप्त खाना र पानीविना कठिन भूवनोटमा कैयौँ दिन वा हप्ताको पैदल यात्राले जोकसैलाई थकाइले लोथ बनाउँछ । यात्रामा ज्यान गुमाएकाहरू बाटोमा त्यसै बेवारिसे छाडिन्छन् । 


यो मार्गबाट अमेरिका हिँड्नेहरूले धेरै घातक अवरोध सामना गर्ने गर्छन् । ठुला नदीको बलियो धार, ठाउँठाउँमा हिलाम्य भास र अचानक आउने ठाडो–गहिरो खोँचहरू त छँदै छ । यस भेगमा आप्रवासीलाई लुट्न सक्रिय सशस्त्र समूहले जुनसुकै आक्रमण गर्ने र बन्धक बनाउने जोखिम पनि उत्तिकै छ । 

ड्यारियन ग्यापको पानामापट्टिको भागमा बलात्कार र यौनहिंसा बढ्न थालेको छ । अप्रिल २०२४ को एक रिपोर्टमा ‘द न्युयोर्क टाइम्स’ले त्यस भेगमा अहिले ‘युद्धबाहिर विरलै देखिने स्तरको’ यौनहिंसा देखिएको लेखेको थियो । हुन पनि ‘ड्यारियन ग्याप’ एक हिसाबमा युद्धक्षेत्र त हो, जहाँ प्रणालीगत असमानता कायम राख्नका लागि कमजोर मानव शरीर माथि दण्डात्मक अमेरिकी नीति खेलिरहेको छ । तर, यस्तो कठिनाइबिच पनि सन् २०२३ मा मात्र झन्डै पाँच लाख बिस हजार मानिसले ‘ड्यारियन ग्याप’ पार गरेका थिए । 

उसो त ‘ड्यारियन ग्याप’लाई ‘बन्द’ गर्छु भन्नु भूमध्यसागर वा सहारा मरुभूमि बन्द गर्छु भनेजस्तै असम्भव कार्य हो । तर, ट्रम्प प्रशासनले अहिले अमेरिकाको सिमाना बन्द गरेपछि यस मार्ग भएर यात्रा गर्नेहरू हतोत्साही भएका छन् । जस्तो मार्चमा ट्रम्पले कार्यकाल सम्हालेको दुई महिनापछि पानामाको अध्यागमन विभागले कोलम्बियाबाट ड्यारियन ग्याप हुँदै भित्रिनेको संख्या केवल १९४ आगमन दर्ता गरेको थियो । तुलनाका लागि अघिल्लो वर्षको मार्चमा यो संख्या ३६,८४१ थियो ।

मैले लामो अनुसन्धानपछि ‘ड्यारियन ग्याप’ माथि लेखेको पुस्तक यही वर्ष प्रकाशित भएको छ । पुस्तक लेखनका लागि अनुसन्धान गर्दा, मैले घेटघाट र कुराकानी गरेका कुनै यस्ता व्यक्ति थिएनन् जसले बाटोमा शव नदेखेका हुन् ।उदाहरणका लागि, फेब्रुअरी २०२३ मा मैले पानामामा भेनेजुएला घर भएकी युवती ग्वाइलिससँग कुराकानी गरेको थिएँ । उनले आफ्नो पतिका साथ दुई वर्षको छोरा लिएर दस दिनमा यो जंगल पार गरेकी थिइन् । बाटोमा आफूहरूले कैयौँ लास देखेको बताएकी ग्वाइलिसले एक वृद्ध मानिसको शव बिर्सिन सकेकी थिइनन् । उनका अनुसार चिसोले कठ्यांग्रिएर डल्लो परेजस्तो अवस्थामा ती वृद्ध मरिरहेका थिए । 

ग्वाइलिसले बाटोमा हाइटीकी एक शोकाकुल महिलालाई पनि भेटेकी थिइन् जसको ६ महिनाको बच्चा भर्खरै उनको आँखाअगाडि खोलाका धारले बगाएको थियो । ग्वाइलिसका पतिका अनुसार बाटोमा उनको एक शवसँग झम्काभेट हुन पुगेको थियो । उनका अनुसार एक भयानक भिरबाट खसिरहँदा उनले रुखको जरा भनेर समातेको सहारा खासमा हिलोमा गाडिएको शवको बाहिर निस्किएको हात रहेछ । त्यो घटना सम्झँदै उनले भने, ‘त्यो हात नभएको भए म बँच्ने थिइनँ ।’ धेरैले नदीमा तैरिरहेका फुलेका लासहरू देखेको बताए । त्यस्तै, अर्का एकजनाले टेन्टमा मृत नवजात जुम्ल्याहा बच्चानजिक मरिरहेकी महिला देखेको बताए । अर्को उस्तै घटनामा दुई मृत बच्चाको छेउमा अर्की मृत महिला भेटिएकी थिइन् । ती तीन शवको नजिकै एकजना पुरुष आत्महत्या गरेको भेटिएको पनि तिनले बताए, जो सम्भवतः मृत बच्चाका बुबा हुन सक्थे । 

सन् २०२३ को अन्त्यमा भेटिएकी युर्बिस नामक युवती १० जनाको विशाल परिवारकी सदस्य हुन् । युर्बिसको ठम्याइमा पानामा जंगल पार गर्ने हरेक व्यक्तिले आफूअघि सो मार्ग हिँड्ने क्रममा मरेका कोही न कोही व्यक्तिका पाइला टेकेकै हुने बताइन् । यसको अर्थ हो, सो मार्गमा हिँड्ने हरेक आप्रवासी प्रत्येक पाइला चाल्दा मृत्युको नजिक हुने गर्छन् । यस तथ्यले मात्रै पनि अमेरिका नेतृत्वको वर्तमान विश्व व्यवस्थामा विकासोन्मुख देशका मानिसको नगन्य मूल्यको सम्झना गराउँछ ।

‘ड्यारियन ग्याप’बाट आउने आप्रवासीहरू केही समय रोकिएलान्, तर जीवनमा गुमाउन केही बाँकी नरहेका हतास मानिस भौतिक र आर्थिक सुरक्षाका लागि जुनसुकै खतरनाक मार्ग पछ्याउन रोक्न गाह्रो पर्छ । आमबोलीचालीको स्पेनिस भाषामा यस मार्गलाई ‘एल इन्फिर्नो भेर्डे’ वा ‘हरित नर्क’ भन्न थालिएको छ । हुन पनि यो जंगल यही उपनामअनुसारकै छ । यो जंगल विपन्नहरूले सुरक्षित जीवन बाँच्न चाहनु नै अपराध भनिने हाम्रो समयको संकटको प्रतीक बनेको छ । त्यस अर्थमा ड्यारियन ग्याप आफैँमा ‘विश्व व्यवस्था’ हो ।
– अलजजिराबाट

सुझावित समाचार