नेपालको संविधान घोषणाको एक दशकलाई सरकारले उत्सवका रूपमा मनाउने भएकाे छ। जसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ। २०७२ असोज ३ गते संविधान जारी भएकोमा आगामी महिना एक दशक पुग्दै छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकले आगामी असोज २, ३ र ४ गते नेपालभित्र र विदेशस्थित नेपाली राजदूतावास तथा नियोगहरू र जनस्तरमा समेत दीपावलीलगायत विभिन्न कार्यक्रम गरी त्रिदिवसीय रूपमा दिवस मनाउन मूल समारोह समिति गठन गरिएको छ। मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्री र राज्यमन्त्रीहरू, नेपाल सरकारका मुख्यसचिव, नेपाली सेनाका प्रधानसेनापति, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्रांकित अधिकृतहरू, काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरू सदस्य र गृह मन्त्रालयका सचिव सदस्यसचिव छन्।
दिवसका क्रममा असोज ३ गते काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा सर्वसाधारणसमेतको उपस्थितिमा मूल समारोह हुने र प्रदेश र स्थानीय तहमा विभिन्न कार्यक्रमहरू प्रस्ताव गरिएको छ। यस्तै, दिवसको अवसरमा राष्ट्रिय गान र राष्ट्रभक्तिको सांगीतिक महोत्वस (नेसनल डे कन्सर्ट) आयोजना, जनस्तरका झाँकीहरू प्रदर्शनी आदि कार्यक्रम प्रस्ताव गरिएको छ ।
दिवसका अवसरमा वर्तमान संविधान निर्माणको ऐतिहासिक पृष्ठभूमि, संविधानको महत्व, संविधानमा अन्तरनिहीत पक्षहरूमा केन्द्रित विशेष संवाद, परिसंवाद तथा सन्देशमूलक नाटकजस्ता सिर्जनात्मक र रचनात्मक कार्यक्रम निर्माण तथा सञ्चालन गरी रेडियो नेपाल, नेपाल टेलिभिजन, सामुदायिक वा निजी क्षेत्रसमेतका विद्युतीय तथा छापा माध्यम एवं सामाजिक सञ्जालमा प्रसारण र प्रकाशनको व्यवस्था मिलाउने प्रस्ताव गरिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संविधान घोषणा दश वर्ष पुगेको अवसरलाई राष्ट्रिय र जनस्तरमा विशेष रूपमा मनाउन आग्रह गर्दै संविधानसँग विकास, राष्ट्रियता, आधुनिकता, मौलिक हक, महिला सशक्तीकरण, समावेशिताका चरित्र, लोककल्याणकारी राज्य, संस्कृति आदि पक्षसँग जोड्नुपर्ने.बताए। वडा र विद्यालय तहसम्म कार्यक्रम आयोजना गर्ने र अधिक रूपमा जनतालाई संविधानको उपलब्धि र महत्त्वसँग एकाकार उनले गराउन आग्रह गरेका छन्।