अविरल वर्षाका कारण त्रिभुवन राजपथ र कान्ति लोकपथ अवरुद्ध

शनिबार, ७ भदौ, २०८२
डिजिटल संस्करण

शुक्रबारदेखिको अविरल वर्षासँगै आएको पहिरोका कारण हेटौँडा र काठमाडौं जोड्ने त्रिभुवन राजपथ र कान्ति लोकपथ अवरुद्ध छन्।

त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–भैँसे सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर १ मा माथिबाट खसेको ठुलो पहिरोले शुक्रबार साँझदेखि अवरुद्ध सडक अहिले पनि खुल्न सकेको छैन । यसैगरी, हेटौँडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको वैकल्पिक मार्गसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

सडक सुचारु बनाउन सडक विभाग, प्रहरी, सेना र हेटौँडा उपमहानगरपालिकाका उपकरण परिचालन गरिएको भए पनि अवरुद्ध सवारीसाधनहरू बिचमै रोकिएका छन् ।

यता कान्ति लोकपथअन्तर्गत भीमफेदी गाउँपालिका वडा नम्बर ८ भर्याङडाँडा र बकैया गाउँपालिकाको लेनडाँडामा गएको पहिरोका कारण उक्त राजमार्ग पनि शुक्रबारदेखि नै बन्द छ ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार सडकमाथिबाट लेदासहित ढुंगा, माटो खसिरहेकाले पहिरो पन्छाउन कठिनाइ भएको छ। बाटो अवरुद्ध हुँदा सवारीसाधन सडकमै रोकिएका छन भने यात्रुहरू अलपत्र परेका छन्।

सुझावित समाचार