एससिओ शिखर सम्मेलन : राष्ट्रपतिले ‘अस्वीकार’ गरेपछि प्रधानमन्त्री चीन जाँदै

शुक्रबार, ३० साउन, २०८२
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेलले अनिच्छा जनाएपछि चीनको बन्दरगाह सहर तियान्जिनमा आयोजना हुने सांघाई को–अपरेसन अर्गनाइजेसन (एससिओ)को शिखर सम्मेलनमा प्रधानमन्त्री केपी ओली सहभागी हुने भएका छन् । प्रधानमन्त्री ओली १४ भदौमा गएर १८ भदौमा स्वदेश फर्किने तय भएको छ । परराष्ट्र मन्त्रालयले उनको भ्रमण तालिका सार्वजनिक गर्न भने बाँकी छ ।

चीनले राष्ट्रपति पौडेललाई १८ भदौमा बेइजिङमा आयोजना हुने सैन्य परेडमा सहभागी हुने गरी औपचारिक भ्रमण गराउने इच्छा जनाएको थियो । कूटनीतिक स्रोतका अनुसार नेपालका लागि चिनियाँ राजदूत चेन सोङले केही महिनाअघि राष्ट्रपति पौडेललाई यो जानकारी दिएका थिए ।

पौडेलले आफू चीन जान तयार भएको जवाफ पनि दिएका थिए । राष्ट्रपतिलाई ३ सेप्टेम्बर (१८ भदौ) मा जापानी सेनाविरुद्ध चिनियाँ सेनाको विजयोत्सव परेडमा सहभागी हुने गरी औपचारिक भ्रमणको निमन्त्रणा परराष्ट्र मन्त्रालयले चिनियाँ दूतावासमार्फत पाएको थियो ।

जापान नेपालको प्रमुख सहायता साझेदार हो । जापानी सेनाविरुद्ध चिनियाँ सेनाले विजय प्राप्त गरेको वर्षगाँठमा नेपालको उच्चस्तरीय प्रतिनिधित्व कूटनीतिक सन्तुलनका हिसाबले सही नहुने सुझावपछि राष्ट्रपति पौडेल नजाने निष्कर्षमा पुगे । त्यसपछि राष्ट्रपतिको भ्रमण नहुने जानकारी चिनियाँ पक्षलाई गराइएको एक कूटनीतिक अधिकारीले बताए । ‘जापानलाई चिढ्याउने र नेपाललाई कुनै पनि हित नहुने यस्तो कार्यक्रममा सहभागी हुन राष्ट्रपति जानुहुँदैन भन्ने आन्तरिक विश्लेषणपछि राष्ट्रपति नजाने तय भयो,’ ती अधिकारीले भने । राष्ट्रपति पौडेल आफैँले २०२२ डिसेम्बरमा त्यहाँको सर्वोच्च पदक ‘अर्डर अफ द राइजिङ सन’ पाएका थिए ।

चिनियाँ पक्षले राष्ट्रपति पौडेललाई एससिओको शिखर सम्मेलनमा भ्रमण गराउने इच्छा गरेको थियो । तर, राष्ट्रपतिको राजकीय भ्रमण हुनुपर्ने नेपालको जवाफपछि चिनियाँ पक्षले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा दिएको उच्च कूटनीतिक स्रोतले बतायो । ‘प्रधानमन्त्रीलाई दुई हप्ताअघि मात्रै चिनियाँ राजदूतले एससिओ सम्मेलनमा सहभागिताका लागि भनेका थिए । गत मंसिरमा औपचारिक भ्रमण गरिसकेको हुनाले अहिले चीन जाने इच्छा प्रधानमन्त्रीको थिएन किनभने उहाँ भदौको अन्तिममा भारत जाने तयारीमा हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘तर, सम्मेलनमा विश्वका शीर्ष नेताहरूको जमघट हुने र भारत–चीनका कार्यकारी प्रमुखहरूसँग भेट हुने सुनिश्चित भएपछि प्रधानमन्त्रीले बुधबार मात्रै जाने तय गर्नुभएको हो ।’

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री ओलीले १८ भदौमा बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् । त्यही दिन चिनियाँ राष्ट्रपति सीले एससिओ शिखर सम्मेलनमा सहभागी हुने शीर्ष नेताहरूका लागि बेइजिङमा आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री ओली सहभागी हुँदै छन् । त्यही सिलसिलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि प्रधानमन्त्री ओलीको भेटवार्ता हुनेछ । ‘भारतीय प्रधानमन्त्रीसँग भेट हुने, चिनियाँ राष्ट्रपतिसँग पनि भेट हुने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत एससिओसम्बद्ध देशका शीर्ष नेताहरूसँग भेट हुने अवस्थालाई मध्यनजर राखेर प्रधानमन्त्रीले चीन जाने तय गर्नुभएको हो,’ प्रधानमन्त्रीनिकट स्रोतले नयाँ पत्रिकासँग भन्यो ।

त्यसैबिच प्रधानमन्त्री ओलीले बुधबार परराष्ट्रसचिव अमृतबहादुर राईलाई चीन भ्रमणको तयारी गर्न निर्देशन दिएका छन् । ‘हामी मूलत: चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्रीले १८ भदौमा गर्ने भेटवार्ताको एजेन्डामा काम गरिरहेका छौँ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो । यस्तै, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले प्रधानमन्त्रीको भ्रमण तयारी भइरहेको बताए । ‘भ्रमणको तयारी भइरहेको छ । उपयुक्त समयमा परराष्ट्र मन्त्रालयले सार्वजनिक गर्नेछ,’ प्रवक्ता क्षेत्रीले भने । प्रधानमन्त्री ओली ३१ भदौमा भारत भ्रमणमा जाने तय भइसकेको छ ।

एससिओमा नेपाल
एससिओ शिखर सम्मेलन १५ र १६ भदौमा आयोजना हुँदैछ । चीनले एससिओ राष्ट्रप्रमुखहरूको सम्मेलन पाँचौँपटक आयोजना गर्न लागेको हो । यसअघि गत वर्ष कजाखस्तानको अस्टानामा सम्मेलन भएको थियो नेपाल एससीओको डायलग पार्टनर हो । १ असार ०५८ मा स्थापना भएको एससिओका दश सदस्य मुलुक छन् । चीन, रुस, कजाखस्तान, किर्गिस्तान, ताजिकिस्तान र उज्वेकिस्तानले स्थापना गरेको एससिओमा सन् २०१७ मा भारत र चीन यसका सदस्य भए । २०२३ मा इरान र २०२४ मा बेलारुस सदस्य भए । यसमा अफगानिस्तान र मंगोलिया पर्यवेक्षक मुलुक हुन् भने नेपाल, अजरबैजान, आर्मेनिया, कम्बोडिया, टर्की, श्रीलंका, साउदी अरब, इजिप्ट, कतार, बहराइन, मालदिभ्स, म्यानमार, युएई र कुवेत डायलग पार्टनर हुन् । शिखर सम्मेलनमा सदस्य मुलुकका कार्यकारी प्रमुखहरू सहभागी हुनेछन् । 

भारतीय विदेश सचिव आइतबार आउने
भारतीय विदेश सचिव विक्रम मिश्री आइतवार दुई दिने भ्रमणका लागि काठमाडौं आउँदैछन् । कूटनीतिक स्रोतका अनुसार मिश्रीले आइतवारै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवासँग शिष्टाचार भेट गर्नेछन् । उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । आइतबारै परराष्ट्र सचिव अमृतबहादुर राईसँग मिश्रीले द्विपक्षीय औपचारिक वार्ता गर्ने कार्यक्रम छ । मिश्री सोमबार पशुपतिनाथ मन्दिर दर्शनलगयतका कार्यक्रममा सहभागी भएर स्वदेश फर्किने कार्यक्रम छ । 

सुझावित समाचार