देशभर वर्षा हुन थाल्यो, तर झरी नहुने

शनिबार, १७ साउन, २०८२
डिजिटल संस्करण

लामो समय नेपालभन्दा दक्षिण रहेको मनसुनको न्यून चापीय रेखा नजिक आउन थालेसँगै देशभर वर्षा हुन थालेको छ। दिनभर बादल लाग्ने र वर्षा हुने भइरहेको छ। शनिबार देशका धेरै ठाउँमा वर्षा भएको छ। खडेरीको चरम मारमा रहेको मधेश क्षेत्रमा पनि वर्षा हुन थालेपछि राहत भएको छ।

आगामी तीन दिनसम्म मनसुन सक्रिय हुने भए पनि झरीको सम्भावना भने नरहेको मौसम पूर्वामान महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन्। ‘देशका धेरैजसो ठाउँमा वर्षा हुन्छ, कुनै ठाउँमा ठूलो पानी पनि पर्ने देखिन्छ,’ उनले भनिन्, ‘तर, देशभर एकैसाथ पानी पर्ने वा दिनभर झरी हुने भने देखिँदैन।’
 
पछिल्लो २४ घण्टामा मापन भएको वर्षाको तथ्याङ्कअनुसार देशको धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। बागमतीका थोरै स्थान तथा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षासमेत मापन भएको छ। ‘आगामी २४ घन्टामा कोशी, गण्डकी र लुम्बिनीका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। यस्तै आगामी केही दिन मधेशलगायत देशभर मनसुन थप सक्रिय हुने देखिएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायमा पछिल्लो मौसमी सूचनाको जानकारी लिन अनुरोध छ,’ महाशाखाले बुलेटिनमा भनेको छ। यद्यपि, अन्य प्रदेशको तुलनामा मधेशमा कम वर्षा हुने देखिएको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो कोशीका धेरै स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना छ। त्यस्तै, मधेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ।

सुझावित समाचार