कैलालीमा उखर्माउलो गर्मीले जनजीवन प्रभावित भइरहेका वेला विद्युत् अनियमित हुँदा सर्वसाधारणले थप सास्ती खेप्नुपरेको छ । धनगढी वितरण केन्द्रअन्तर्गत कुनै–कुनै क्षेत्रमा दैनिक चार–पाँच घण्टासम्म विद्युत् कटौती हुने गरेको छ । सातायता विद्युत् अनियमित झन् बढेको छ । धनगढी–अत्तरिया प्रसारणलाइनमा समस्या देखिएपछि शनिबार राति १०ः५५ देखि आइतबार बिहान २:३० बजेसम्म वितरण केन्द्रअन्तर्गत पूरै क्षेत्रमा विद्युत् अवरुद्ध भएको थियो । धनगढी तथा आसपासका विभिन्न क्षेत्रमा शुक्रबार रातभर पनि विद्युत् अवरुद्ध थियो ।
‘गर्मी खपिसक्नु छैन । यस्तो वेला झन् लोडसेडिङ नहुनुपर्ने हो,’ धनगढी उपमहानगरपालिका– १७ का विनोद चौधरीले भने, ‘रातभर बत्ती हुँदैन, दिउँसोको समयमा पनि त्यस्तै हो । यस्तो गर्मीमा बत्ती नभई कसरी बस्ने ?’ करिब एक सातायता विद्युत् कटौती झन् बढेको उनले सुनाए । अघोषित लोडसेडिङले सास्ती खेप्नुपरिरहेको धनगढीका अर्का स्थानीय सन्तोष कुँवरले बताए ।
उनले प्राधिकरणबाट विद्युत् जाने र आउने जानकारीसमेत नहुने गरेको गुनासो गरे । ‘धनगढीमा अघोषित लोडसेडिङ भइरहेको छ । गर्मीले बेहाल भएको छ,’ उनले भने, ‘बत्ती के कारणले गएको हो र कति वेला आउँछ भनेर सोध्न खोज्दा विद्युत् कार्यालयमा फोन लाग्दैन ।’ हावाहुरी चल्दा र पानी पर्दा विद्युत् प्रायः अवरुद्ध हुने गरेको छ ।
लामो समयपछि शनिबार राति परेको पानीले केही राहत भएको छ, तर गर्मी घटेको छैन । धनगढीका अधिकांश ठाउँमा बिहीबार रातभर बत्ती थिएन । चर्को गर्मीमा रातभर विद्युत् कटौती भएपछि धनगढीका विभिन्न ठाउँका बासिन्दा शुक्रबार बिहान नेपाल विद्युत् प्राधिकरण धनगढी वितरण केन्द्र पुगेका थिए ।
उनीहरूले विद्युत् नियमित गर्न प्राधिकरणसँग माग गरे । आइतबार पनि स्थानीय बासिन्दा विद्युत् नियमित गर्न माग गर्दै प्राधिकरणको धनगढी वितरण केन्द्र पुगेका थिए । विद्युत् अनियमित भइरहे पनि प्राधिकरणले लोडसेडिङको तालिका भने सार्वजनिक गरेको छैन । प्राधिकरणले भने लोडसेडिङ नभएर प्राविधिक कारणले विद्युत् अनियमित भइरहेको जनाएको छ ।