मन्त्री गुप्ताले घुस प्रकरणमा भूमि व्यवस्थामन्त्री अधिकारीलाई पनि पोले–बलरामले पैसा खाइसक्यो, काम गर्दैन

शनिबार, २८ असार, २०८२
डिजिटल संस्करण
मन्त्री गुप्ताले घुस प्रकरणमा भूमि व्यवस्थामन्त्री अधिकारीलाई पनि पोले–बलरामले पैसा खाइसक्यो, काम गर्दैन

बलराम अधिकारी

२५ लाखको घुस डिलसम्बन्धी अडियोमा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले भूमि व्यवस्थामन्त्री बलराम अधिकारीलाई समेत पोलेका छन् । मन्त्री अधिकारीले पैसा (घुस) खाइसकेको दाबी गरेका छन् ।

अडियोमा बिचौलियाले मन्त्री गुप्तालाई आग्रह गर्दै भन्छन्, ‘सुन्नु न मन्त्रीज्यू, त्यो बलराम (भूमि व्यवस्थामन्त्री बलराम अधिकारी)लाई भनम् न । बरु, त्यो २० म बुझाइदिउँला के खेम (खेमबहादुर पुन)का लागि भोलि । फर्स्ट आवरमै बुझाइदिन्छु त्यो पनि । भन्दिनु त बलरामलाई ।’ (पुनलाई भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि यो प्रस्ताव गरिएको बुझिन्छ ।)

जवाफमा मन्त्री गुप्ता भन्छन्, ‘बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले (काम) गर्दैन ।’ (गुप्ताले कास्की मालपोतका तत्कालीन प्रमुखको सरुवाका विषयमा यो कुरा गरेको अनुमान गर्न सकिन्छ ।) बिचौलियाले त्यो विषयमा होइन, भूमि आयोगमा नियुक्तिका सन्दर्भमा कुरा गरेको भन्दै गुप्तासँग भन्छन्, ‘त्यो होइन क्या, आयोगको कुरा गरिराको छु ।’

त्यसपछि पनि पटकपटक पुनलाई नियुक्ति गर्न मन्त्री अधिकारीलाई भनिदिन आग्रह गरेको सुनिन्छ । एकपटकको जवाफमा मन्त्री गुप्ता भन्छन्, ‘अब अहिले मन्त्रालयमा छ, यहाँ (निवास) हुन्थ्यो भने आइहाल्थ्यो, तीनपाने रक्सी खान ।’

सुझावित समाचार