रास्वपालाई गृहमन्त्रीको प्रश्न– भिजिट भिसा दुरुपयोग गर्ने नेताका कार्यकर्ताले नैतिकता पढाउन मिल्छ ?

बुधबार, २५ असार, २०८२
डिजिटल संस्करण

गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताले नैतिकताको पाठ पढाउन नमिल्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा लेखकले ‘सुनेको कुरा’ भन्दै रास्वपा सभापति रवि लामिछाने भिजिटरका रूपमा अमेरिका गई त्यहाँको नागरिकतासमेत लिएर भिजिट भिसाको दुरुपयोग गरेको टिप्पणी गरे। प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमणको विषयमा रास्वपा सांसदले असत्य विषय उठाएको भन्दै लेखकले असन्तुष्टि जनाएका हुन्।

‘जान्ने’हरूले जानकारी दिनु भन्दै लेखकले भने, ‘उहाँ (लामिछाने) भिजिटरका रूपमा अमेरिका जानुभएको हो कि होइन ? यदि भिजिट भिसा अथवा भिजिटर अथवा निश्चित केही समय अर्को देश बसेर फर्केर आउने भिसामा जानुभएको होइन भने के भिसामा जानुभएको हो त्यो जानकारी गराइदिनुहुन म आग्रह गर्न चाहन्छु। यदि भिजिट भिसामै जानुभएको हो भने भिजिट भिसामा गएर त्यही देशको नागरिकता लिन पाइन्छ कि पाइँदैन ? त्यो भिजिट भिसाको दुरुपयोग हो कि होइन ?’

भिजिट भिसाको दुरुपयोग गर्नेका कार्यकर्ताले अरूबाट नैतिकताको अपेक्षा गर्न नहुने भन्दै गृहमन्त्रीले भने, ‘अनि भिजिट भिसाको दुरुपयोग गर्ने पार्टीको नेताका कार्यकर्ताहरूले अर्कोलाई धेरै ज्यादा नैतिकताको कुरा पढाउनु हुन्छ कि हुँदैन ? नैतिकताको प्रश्न अरूबाट अपेक्षा गर्ने हो कि आफूबाट प्रारम्भ गर्ने हो ?’
 

सुझावित समाचार