प्रधानमन्त्रीको पुल उद्घाटनले रोकियो त्रिविको सिनेट : बजेट र उपाधि प्राप्त ८९ हजार विद्यार्थीको सूची पास गर्ने कार्य अलपत्र

सोमबार, २३ असार, २०८२
डिजिटल संस्करण

त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी ओलीले अघिल्लो वर्षझैँ यसपटक पनि त्रिवि सभाको वार्षिक बैठक रोकेका छन् । आइतबार त्रिविको आगामी वर्षको बजेट र शैक्षिक उपाधि प्राप्त गरेका विद्यार्थीको सूची पास गर्न सभा राखिएको थियो । तर, ओली नगएपछि त्रिविको बजेट र उपाधि प्राप्त ८९ हजार सात सय विद्यार्थीको सूची (ग्रेस लिस्ट) पास गर्ने बैठक नै स्थगित भयो । जबकि ओलीकै सहमतिअनुसार नै समय लिएर कार्यक्रम निर्धारण गरिएको थियो । 

आइतबार १२:४५ बजेका लागि त्रिवि सभाको वार्षिक बैठक तोकिए पनि प्रधानमन्त्री ओली नआएपछि रोकिएको त्रिविका एक पदाधिकारीले बताए । ‘उहाँले अन्तिममा आएर कार्यक्रम रोक्नुभयो, हामीले सिनेटका सबैजसो सदस्य बोलाइसकेका थियौँ, तर शनिबार बिहान उहाँले सभा रोक्न भन्नुभयो,’ ती पदाधिकारीले भने, ‘अब सिनेट बैठक कहिले बस्ने हो टुंगो छैन ।’ त्रिवि सभा बैठक स्थगित गराएका ओलीले आइतबारको दिन सुर्खेत र हुम्लामा बिताएका थिए ।

देशका ८० प्रतिशत विद्यार्थीले उच्च शिक्षा हासिल गर्ने विश्वविद्यालयमा प्रधानमन्त्रीले नै महत्वपूर्ण कार्यक्रम रोकेपछि त्रिविमा अन्योल छाएको छ । ओलीकै कारण तिथि (शुक्ल नवमी)मा बस्ने त्रिविको बैठक भद्रगोल बनेको छ । परम्पराअनुसार त्रिविमा तिथिअनुसार नै वार्षिक सभा बोलाइन्छ । तिथिअनुसार यसपटक शुक्रबार बैठक राख्ने तयारी गरियो । तर, ओलीको स्पेन भ्रमणका कारण आइतबारलाई सारिएको थियो । ओलीले आइतबारको बैठक पनि सार्न निर्देशन दिए । 

प्रधानमन्त्री ओलीले निर्धारित बैठक रोकेपछि त्रिविका निमित्त उपकुलपति प्रा.डा. खड्ग केसी अन्योलमा छन् । अब कुलपति ओलीले कहिले बैठक बोलाउने हुन् भन्नेमा अनिश्चितता रहेको उनले बताए । ‘नियमअनुसार सिनेट बैठक डाक्ने कुलपति प्रधानमन्त्रीज्यूले नै हो । त्यतैबाट निर्देशन र सूचना आएपछि र उहाँले समय तोकेपछि बैठक बस्छ,’ उनले भने, ‘हामीले डेढ महिनाअघि नै त्रिविको नीति कार्यक्रम बुझाइसकेका छौँ । बैठकमा राख्ने तथा पारित गर्ने सबै विवरण बुझाएका छौँ । डेढ महिनाअघि हामीले भेट्दा समयमै गर्नुपर्छ भन्नुभएको थियो, तर बिचमा के आइपर्यो थाहा भएन ।’ 

केसीका अनुसार सबैभन्दा महत्वपूर्ण बजेट र दीक्षान्त समारोहको विषय सिनेटमा पास तथा प्रमाणीकरण हो । बर्खे सिनेटले अनुमोदन गर्ने र पास गरेपछि दीक्षान्त समारोह र त्रिविको अन्य आगामी कार्यक्रमको योजना अघि बढ्छ । दीक्षान्त समारोहसम्बन्धी २७ सय पेजको प्रतिवेदन ओलीलाई बुझाइसकिएको छ । तर, त्यसमा प्रमाणीकरण हुन बाँकी छ । त्रिवि स्रोतका अनुसार यस वर्ष त्रिविले २७ अर्बहाराहारी बजेट ल्याउने तयारी गरेको छ । गत वर्ष २६ अर्ब १६ करोड बजेट ल्याएको थियो । सिनेटका लागि उपत्यकाबाहिरका प्राध्यापकसमेत आइसकेका थिए । प्रधानमन्त्रीले आइतबार हुम्ला जोड्ने बेलिब्रिज पुल उद्घाटन गर्न जानुपरेकाले त्रिविको बैठक रोकेका थिए । ओलीका कारण गत वर्ष पनि वार्षिक कार्यक्रम प्रभावित बनेको थियो । तिथिमा गर्नुपर्ने बैठक १५ साउनमा मात्रै बसेको थियो । 

दीक्षान्त समारोह दुई चरण तथा डिनअनुसार गर्ने तयारी 

त्रिविको दीक्षान्त समारोहमा हुने भिड र अस्तव्यस्ततालाई मध्यनजर गर्दै आगामी आर्थिक वर्षदेखि दुई चरणमा गर्ने वा डिन कार्यालयअनुसार गर्ने भन्ने योजना अघि सारिएको छ । ‘हामीले आगामी नीति तथा कार्यक्रम त्रिवि योजना परिषद्बाट पास गरिसकेका छौँ, सो योजनाको कपी कुलपतिज्यूलाई पनि बुझाइसकेका छौँ,’ निमित्त उपकुलपति केसीले भने, ‘दीक्षान्त समारोहबारे गत वर्ष नीति तथा कार्यक्रममा थिएन, यसपटक छ, त्यसैले अब भद्रगोल र अस्तव्यस्तता नहुने गरी दीक्षान्त समारोह गर्छौँ ।’ उनका अनुसार त्रिविको आगामी नीति तथा कार्यक्रम त्रिवि योजना परिषद्सामु उपकुलपतिले पढेर सुनाएपछि पास हुनेछ । सोहीअनुसार नीति तथा कार्यक्रम पास गरी प्रमाणीकरणका लागि डेढ महिनाअघि नै कुलपतिकहाँ पठाइसकिएको छ । 

तीन महिनादेखि निमित्तको भरमा त्रिवि, सुरु भएन उपकुलपति नियुक्तिको प्रक्रिया 
त्रिभुवन विश्वविद्यालयमा उपकुलपति पद रिक्त भएको तीन महिना बितिसकेको छ । १५ चैतदेखि त्रिवि निमित्त उपकुलपतिको भरमा छ । तर, निमित्त उपकुलपतिलाई सबै अधिकार नदिइएकाले काम गर्न अलमल हुने गरेको केसीले बताए । प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिको प्रक्रिया नै तय गरेका छैनन् । यसअघि सर्च कमिटीले सिफारिस गरेका आधारमा मेरिटअनुसार प्रा.डा. केशरजंग बराल नियुक्ति भएका थिए । तर, ओलीकै असहयोगका कारण उनले छोटो समयमै राजीनामा दिएका थिए । त्रिविको ऐनअनुसार रिक्त भएको ९० दिनभित्र उपकुलपति नियुक्ति गरिसक्नुपर्ने व्यवस्था छ । तर, १५ असारमै ९० दिन पुगिसकेको छ ।

See More On

सुझावित समाचार