प्रधानमन्त्री ओली आज अपराह्न काठमाडाैं आइपुग्ने

स्पेनकाे भ्रमण सकेर प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

शुक्रबार, २० असार, २०८२
डिजिटल संस्करण

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन स्पेन भ्रमणमा पुगेका प्रधानमन्त्री केपी ओली आज स्वदेश फर्कँदै छन् । प्रधानमन्त्री ओली आज अपराह्न ३:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नेछन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन प्रस्थान गरेका थिए ।

स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको थियो । यस्तै, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेजसँग पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।

यस्तै, स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुई मोन्टेनेग्रोसँग पनि भेटवार्ता भएको थियो । प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री ओलीले अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षतासमेत गरेका थिए । यस्तै, विभिन्न छलफल सत्रमा प्रधानमन्त्री ओलीको सक्रिय सहभागिता रहेको थियो ।

विकास सहायतामा नयाँ सोचसम्बधी उच्चस्तरीय छलफलका अवाला अन्य साइड इभेन्टहरूमा प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलले सहभागिता जनाएको थियो ।

बिहीबार मात्र उनले स्पेनको मेड्रिडस्थित विश्वप्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमण गरेका थिए । यसैगरी प्रधानमन्त्री ओलीले स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओली केहीबेरअघि मात्र स्पेनको मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गरिसकेका छन् ।

सुझावित समाचार