पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा प्रक्रियामा अनियमितताको आशंका : उत्तरपुस्तिका र नगदसहित फेला परेका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएन

बुधबार, ४ असार, २०८२
डिजिटल संस्करण

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत सञ्चालित परीक्षामा गार्डका रूपमा खटिएका एक कर्मचारी नगद ८० हजार रुपैयाँ र दुई थान उत्तरपुस्तिकासहित फेला परेका छन् । तर, प्रहरीले उनलाई नियन्त्रणमा नलिई मुचुल्का मात्र उठाएर छाडेको छ।

विराटनगर– ३, पोखरियास्थित पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकाय (पुसेट)मा मंगलबार दिउँसो परीक्षा ड्युटीमा खटिएका कर्मचारी मनीष यादव स्कुटीको डिक्कीमा उक्त रकम र उत्तरपुस्तिकासहित फेला परेका हुन्। प्रत्यक्षदर्शीहरूका अनुसार पुसेट कलेजमा ज्यालादारीमा कार्यरत यादवले परीक्षाको समयमा नियमित रूपमा स्कुटी लिएर बाहिर जाने र करिब एकदेखि डेढ घण्टापछि फर्किने गरेका थिए। उनको यस्तो गतिविधिप्रति शंका लागेपछि केही कर्मचारीले प्रहरीलाई गोप्य सूचना दिएका थिए।

त्यसपछि घटनास्थल पुगेको प्रहरीले स्कुटी जाँच गर्दा दुई थान उत्तरपुस्तिका र नगद ८० हजार रुपैयाँ फेला पारेको थियो। तर, विश्वविद्यालयको परीक्षा कार्यालयबाट उच्च तहमा फोन आएपछि प्रहरीले यादवलाई नियन्त्रणमा नलिई केवल मुचुल्का तयार पारी छाडेको हो।

मोरङका एसपी नारायणप्रसाद चिमोरियाका अनुसार यादवको स्कुटीबाट फेला परेको उत्तरपुस्तिका लेखिएको नभई खाली थियो। ‘अपराध पुष्टि नभएकाले पक्राउ गर्न सकिएन, तर मुचुल्का तयार पारिएको छ,’ उनले भने।

उनका अनुसार घटनाको छानबिन विश्वविद्यालयको परीक्षा कार्यालय आफैँले गर्ने बताइएको छ। ‘हामीले कसैलाई परीक्षा दिइरहेका वेलामा रंगेहात समातेमा वा झगडा वा हुलदंगा भएमा मात्रै पक्राउ गर्न सक्छौं। तर, यस घटनामा त्यस्तो अवस्था देखिएन,’ एसपी चिमोरियाले स्पष्ट पारे।

विश्वविद्यालय स्रोतका अनुसार मनीष यादव परीक्षा केन्द्रबाट उत्तरपुस्तिका बाहिर लैजाने, बाहिर कोहीसँग लेखाएर पुनः साट्ने कार्यमा संलग्न हुन सक्ने आशंका गरिएको छ। यसमा परीक्षासँग सम्बद्ध अन्य कर्मचारीहरूको समेत संलग्नता हुन सक्ने सम्भावना छ। यस विषयमा विश्वविद्यालयका परीक्षा नियन्त्रक बालेन्दु हमाल ठकुरीसँग सम्पर्क गर्न खोज्दा सम्भव हुन सकेन।

सुझावित समाचार