तीनकुने घटनामा मध्यराति थुनछेक आदेश : दुर्गा प्रसाईंलगायतलाई थुनामा पठाउने आदेश

शुक्रबार, ३० जेठ, २०८२
डिजिटल संस्करण

गत १५ चैतमा राजावादी प्रदर्शनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनामा काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा पठाउने आदेश गरेको छ ।

बिहीबार मध्यराति काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले प्रसाईंसहित सातजनालाई पुर्पक्षमा पठाउने र ३२ जनालाई जमानतमा छाड्ने आदेश गरेको हो । घटनामा ३९ जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो । 

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा पुर्पक्ष पठाउने आदेश गरेको हो । राजावादी आन्दोलनका नेता तथा अधिवक्ता स्वागत नेपालले क्यान्सर अस्पतालमा उपचार गराउने गरी प्रसाईंलाई पुर्पक्षमा पठाउने आदेश गरेको बताए । 

उनीसहित सरोज गौतम, गोकर्ण शाही, सुशील बराल, केशव बस्नेत, कुमार तामाङ र दण्डपाणि रेग्मीलाई थुनामा राख्ने आदेश भएको छ । अन्य ३२ जना धरौटीमा छुटेका छन् । 

जिल्लाको आदेश बदर गराउन उच्च अदालत जाने अधिवक्ता नेपालले बताए । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणाको हकमा भने उनीहरू अदालतमा उपस्थित भएपछि मात्र आदेश हुने भएको छ । हाजिरी जमानीमा छुटेका उनीहरू अहिले फरार छन् ।

सुझावित समाचार