प्रधानमन्त्रीलाई बालिकाको पत्र

बिहिबार, ३० जेठ, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्रीज्यू, एकपटक इँटाभट्टामा जकडिएको जिन्दगी नियाल्न हाम्रा ‘झ्याउली’हरूको अवलोकन गरिदिनुभए हुन्थ्यो नि !

श्री सम्माननीय प्रधानमन्त्रीज्यू,
बालुवाटार, काठमाडौं ।

मेरो घर उदयपुर जिल्लामा पर्छ । तर, श्रमको सिलसिलामा म हाल परिवारसँगै भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका–८, जगातीमा बस्दै आएकी छु । म सूर्यविनायककै सिपाडोलमा रहेको गणेश माविमा कक्षा १० मा अध्ययनरत छु । म इँटाभट्टामा काम गर्ने बालिका अर्थात् बालश्रमिक पनि हुँ ।

गरिबीबाट आक्रान्त जिन्दगी जिउने विकल्प खोज्दै यहाँका इँटाभट्टामा मजदुरी गर्न गाउँ, छाप्रो, पाखा, पखेरा छाडेर झ्याउलीको बसाइँमा रमाउन बाध्य भएका हाैँ हामी । रहर कसलाई छ र आफ्नो गाउँ छाडेर यो सहरमा मजदुरी गर्न आउनलाई ? तर, जसोतसो बाँच्नु त पर्यो नि, होइन र ? गरिबका लागि बाँच्नु नै कठिन संघर्ष रहेछ । भोको पेट भर्न र आङ ढाक्नकै लागि हामीले वर्षमा झन्डै ६ महिना इँटाभट्टाको हिलो, धुलो र धुवाँ झेल्नुपर्छ । गरिबका धेरै सपना कहाँ हुन्छन् र ? परिवारका लागि भरपेट खाना र एकसरो नाना लगाउन पाए त पुगिहाल्यो नि, होइन र ?

गाउँमै रोजगारी पुग्थ्यो भने, गाउँमै सीप पुग्थ्यो भने, गाउँका भिरपाखामा आधुनिक र विकासे कृषि प्रणाली पुग्थ्यो भने यहाँ को आउँथ्यो र, प्रधानमन्त्रीज्यू ? यहाँ आउनु हाम्रो रहर होइन, बाध्यता हो । आफ्नो परिवारको गुँड बोकेर ६ महिनाका लागि इँटाभट्टामा काम गर्न आउने हजारौँ श्रमिकको व्यथा उस्तैउस्तै नै छन् । बालबालिका तिनै आमाबाबुको पछि लागेर उनीहरूसँग आउँदा यहाँ दुई–चार हजार बढी कमाइएला कि ? दसैँमा लिएको ऋण तिर्न पुग्ला कि भन्ने आशामा आफ्ना पढ्ने, खेल्ने रहरलाई आफ्नै पैतालाले कुल्चिँदै बालश्रममा जाकिनु हाम्रो रहर होइन, बाध्यता हो । यो म र मेरो परिवारको मात्रै होइन, अधिकांश इँटाभट्टाका मजदुरको पीडा हो ।

मंसिरमा इँटाभट्टामा आऊ, चैत–वैशाखमा आफ्नो श्रमको मूल्य लिएर गाउँ फर्क । यो धेरैको नियति हो । ६ महिना इँटाभट्टामा र ६ महिना गाउँमा बस्ने बालबालिकाको पढाइ कस्तो होला ? इँटाभट्टाको कालो धुवाँ, धुलो र हिलोले बालबालिकाको स्वास्थ्यमा कति असर पर्ला ? त्यो भोग्ने परिवारलाई मात्रै थाहा छ । त्यसमाथि पनि नाइकेले खाने कमिसन, पानी परेर बनाएको इँटा बिग्रिएमा खेर जाने मिहिनेत, जाडोको तुसारोमा बिहान चार बजेदेखि इँटा बनाउने साँचोमा माटोकै डल्ला पछार्न कति गाह्रो हुन्छ भन्ने त भोग्नेलाई मात्रै थाहा हुन्छ ।

कठ्यांग्रिँदा चिसोमा जस्ताले छाएको सानो छाप्रो, जहाँ उभिँदा पनि ठोकिन्छ, निहुरिएर टुक्रुक्क बस्नुपर्छ । प्रधानमन्त्रीज्यू, कहिलेकाहीँ त लाग्छ, यो साँघुरो झ्याउलीजस्तै साँघुरिएको छ हाम्रो जिन्दगी पनि । साँघुरो झ्याउलीमा त्यहीँ पकाऊ, त्यहीँ खाऊ, त्यहीँ परिवारै सुतेर रात कटाऊ, कति कठिन होला, त्यो पीडा हामीजस्ता श्रमिक परिवारले मात्रै बुझेका छौँ ।

धेरै बालबालिका आमाबाबुसँगै इँटाभट्टामा पुग्छन्, कैयौँ बालबालिका गाउँमा एकछाक राम्ररी खान पनि नपाउँदा पैसा कमाउने चाहनाले नाइकेको भरमा परेर इँटाभट्टामा पुग्छन् । जो जसरी पुगे पनि पीडा त एउटै हो, भोग्नु त परी नै हाल्छ । हामी बालश्रमिकले इँटाभट्टामा कहाँ पढ्न पाउँछौँ र ? पढ्न पाउने कतिपयले सरकारी विद्यालयले लिने शुल्क तिर्न नसक्दा परीक्षा दिन नपाउने अवस्था सिर्जना भएका धेरै बालबालिका छन् । ६ महिना हो, राम्ररी पढ्ने भनेको । अरू वेलामा त इँटा बनाउने हिलोसँगै जिन्दगी मुछिरहनुपर्छ, प्रधानमन्त्रीज्यू । पढेर ठुलो मान्छे बन्ने चाहना र भाग्य त हाम्रा पाखुरा बजारेर बनेका इँटासँगै बिक्री हुन्छ । जे भागिरहेका छौँ, त्यही नै हो जिन्दगी भनेर दिन कटाउनुको विकल्प छैन ।

इँटाभट्टामा महिलाले मात्रै होइन, हामी बालिकाले भोग्ने हिंसाको छुट्टै कथाव्यथा छन् । कैयौँ महिला पनि हिंसामा परेका छन् । हामीजस्ता बालिका र किशोरीले यहाँका श्रमिक, नाइके, चालक तथा सहचालकबाट कतिखेर हिंसा व्यहोर्नुपर्छ पत्तै हुँदैन । सुतिरहेको झ्याउलीभित्र कैयौँ बालिकाको बालापन खोसिएको छ । कैयाैँ बालिका र महिला बलात्कारको सिकार हुनुपरेको छ । स्वास्थ्यको अवस्था निकै नाजुक छ । इँटाभट्टामै कैयौँ रोग शरीरमा पस्छन्, पत्तै हुँदैन । पीडैपीडाले भरिएको छ, दुईछाक टार्न जोहो गर्ने श्रमिकको जिन्दगी । प्रधानमन्त्रीज्यू, एकपटक इँटाभट्टामा जकडिएको जिन्दगी नियाल्न ती झ्याउलीहरूको अवलोकन गरिदिनुभए हुन्थ्यो नि !

प्रधानमन्त्रीज्यू, देशको संविधानअनुसार शिक्षा, स्वास्थ्य र रोजगारीको दायित्व त सरकारकै होइन र ? गाउँमै रोजगारी पुग्थ्यो भने इँटाभट्टाको झ्याउलीमा किन आउनुपर्थ्यो र ? श्रममा परेका बालबालिकाका अभिभावकलाई परेको रोजगारीको समस्याबाट मात्रै मुक्त गराइदिए पनि बालबालिका श्रममा जानुपर्ने थिएन । बालबालिकाले स्वतन्त्र भएर पढ्न पाउने थिए । प्रधानमन्त्रीज्यू, के अब साँच्चै ती अभिभावकलाई बाँच्ने आधारभूत समस्याबाट मुक्त गराउन सरकार लाग्छ त ? आशा गरेको छु, यो पत्र तपाईंले पढ्नुहुनेछ र श्रमिक परिवार तथा श्रममा जेलिएका बालबालिकाको समस्या समाधानमा तपाईं लाग्नुहुनेछ । बालबालिकाको कलिलो उमेरमा रमाउने, खेल्ने, पढ्ने चाहना अब इँटाभट्टको धुँवासँगै उड्नेछैनन्, श्रममा परेका बालबालिकाको अधिकार हनन हुनेछैन, उनीहरू अधिकारबाट वञ्चित हुनेछैनन् भन्ने ठुलो अपेक्षा राखेकी छु ।

प्रधानमन्त्रीज्यू, हामीजस्ता श्रममा परेका बालबालिकालाई विद्यालयमा नि:शुल्क शिक्षाको व्यवस्था गरिदिनुपर्यो । बालश्रमविरुद्ध ऐन, नियम, कानुन बनाउनुका साथै बनेका कानुनलाई कार्यान्वयनमा ल्याउनुपर्यो । १६ वर्षमाथिका बालबालिकालाई स्वरोजगारमूलक सीप दिनुपर्यो । विद्यालयमा बालबालिकालाई घोकन्ते होइन, सीपमूलक र प्राविधिक शिक्षा प्रदान गर्नुपर्यो । यति मात्रै भए पनि धरै हदसम्म बालश्रम हट्छ । यसले भोलिको देश सबल र सक्षम बनाउन धेरै मद्दत पुग्छ । आशा गरेको छु, यो पत्र पढेर हाम्रो समस्या समाधानमा यहाँले ध्यान दिनुहुनेछ । 

पुष्पा मगर
सूर्यविनायक–८, भक्तपुर 

 

See More On

सुझावित समाचार