राजसंस्था र हिन्दुराष्ट्र पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यकाकेन्द्रित आन्दोलन जिल्लास्तरमा विस्तार गर्ने निर्णय गरेको छ । यो एजेन्डाबाहेक सबैभन्दा ठूलो दल राप्रपाले भने दोस्रो चरणको आन्दोलनको कार्ययोजना तय गर्ने भएको छ ।
दैनिक प्रदर्शन कमजोर भएपछि अब राजधानीबाहिर कार्यक्रम गर्ने र त्यसपछि आन्दोलनलाई काठमाडौंकेन्द्रित गर्ने समितिले निर्णय गरेको छ । बुधबार समितिमा आबद्ध ४५ दल, समूह र अभियानको बैठक बोलाइएको थियो । ‘पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरूपमा केही परिमार्जन गरिनेछ,’ समितिका संयोजक नवराज सुवेदीले जारी गरेका विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौं उपत्यकाको विभिन्न पालिकामा विरोध प्रदर्शन निरन्तर जारी राखिनेछ । काठमाडौं अतिरिक्त देशको विभिन्न प्रमुख सहरहरूमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गरिनेछ । देशका विभिन्न जिल्लामा आन्दोलनका कार्यक्रम सञ्चालन गरिसकेपछि पुनः काठमाडौंकेन्द्रित गरिनेछ ।’ समितिले स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गर्ने तथा जिल्लाहरूमा प्रतिबद्ध र जुझारु युवा कार्यकर्ताको समूह तयार गर्ने पनि सुवेदीले बताएका छन् ।
राजावादीको बैठकमा लिङ्देन अनुपस्थित
बुधबार राजधानीको नवदुर्गा पार्टी प्यालेसमा समिति संयोजक नवराज सुवेदीले बोलाएको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी भएनन् । बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले लिङ्देनसँगको समन्वयमा आगामी कार्यक्रम ल्याउनुपर्ने सुझाव दिए, तर बुधबारै सुवेदीले उपत्यकाबाहिर आन्दोलन गर्ने घोषणा गरेका छन् ।
‘समितिका तर्फबाट प्रतिनिधि पठाइदिन आग्रह भएपछि पार्टी अध्यक्षले महामन्त्री राजेन्द्र गुरुङलाई आधिकारिक रूपमा पठाउनुभएको हो । तर, अध्यक्ष लिङ्देन बैठकमा सहभागी किन नभएको भनेर हंगामा गरिएछ,’ राप्रपका एक नेताले भने, ‘१५ जेठको कार्यक्रम तय गर्ने समयदेखि नै सुवेदी नेतृत्वको समितिले एकलौटी रूपमा निर्णय गर्दै आएको थियो । अहिले पनि पार्टीलाई बाइपास गर्न खोजिएको छ, यो हामीलाई मान्य हुँदैन ।’ बुधबारको बैठकमा समिति संयोजक सुवेदीले अध्यक्ष लिङ्देनलाई नबोलाएको बरु सुवेदीनिकट व्यक्तिहरूले अप्रत्यक्ष रूपमा सम्पर्क गरेर पार्टी प्रतिनिधि पठाइदिन आग्रह गरेको लिङ्देननिकट नेताहरूको भनाइ छ ।
सुवेदीले बुधबार दिउँसो २ बजे बोलाएको बैठकमा एक घण्टासम्म लिङ्देनको प्रतीक्षा भएको थियो । सहभागी नेताहरूका अनुसार लिङ्देन संसद्मा रहेको र बैठकमा सहभागी हुन आउने जानकारी गराइएको थियो । तर, लिङ्देन एक घण्टासम्म नआएपछि बैठकमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपासँग समन्वय गरेर आन्दोलनका भावी कार्यक्रम तय गर्नुपर्ने धारणा राखेका थिए । त्यसपछि सुवेदीले बैठक स्थगित गरेका थिए । त्यसपछि सुवेदी, राप्रपा नेताहरू डा. प्रकाशचन्द्र लोहनी, हरिबहादुर बस्नेत, विक्रम पाण्डेलगायतले लोहनीनिवास पुगेर छलफल गरेका थिए । बुधबार साँझ राप्रपा नेपालका अध्यक्ष थापा र राप्रपा अध्यक्ष लिङ्देनबिच भेटवार्ता भएको थियो ।
आन्दोलनको कार्ययोजना ल्याउँछौँ : लिङ्देन
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पहिलो चरणको आन्दोलन उत्साहपूर्ण भएको र पार्टीले बैठक बोलाएर भावी कार्ययोजना ल्याउने बताएका छन् । ‘हाम्रो आन्दोलन निरन्तर रहन्छ । पहिलो चरणको आन्दोलन उत्साहपूर्ण भएको छ । अब पार्टीले बैठक बोलाएर आन्दोलनको भावी कार्ययोजना ल्याउनेछ,’ नयाँ पत्रिकासँग उनले भने । लिङ्देनले समितिको बैठकमा अनुपस्थित भएको विषयमा प्रतिक्रिया दिएनन् । ‘आन्दोलन जारी रहन्छ । पार्टीले यसबारेमा छिट्टै निर्णय गर्नेछ,’ उनले भने ।
सुवेदी नेतृत्वको जनआन्दोलन समितिले १५ जेठदेखि हुँदै आएको उपत्यकाकेन्द्रित आन्दोलनको तयारी र व्यवस्थापनमा एकलौटी निर्णय गरेको भन्दै लिङ्देनले निकटस्थसँग असन्तुष्टि जनाउँदै आएका थिए । उनले सुरुमा समिति गठन गर्दा आफूलाई नसोधी आफ्नो नाम राखेको भन्दै सार्वजनिक रूपमा असन्तुष्टि जनाएका थिए । तर, पूर्वराजा ज्ञानेन्द्र शाहको संयोजनमा लिङ्देन, सुवेदी, कमल थापा र केशरबहादुर विष्टबिच छलफल भएपछि लिङ्देनले समितिमा सहभागिता जनाउँदै आएका थिए ।