गणतन्त्रप्रति आशा जगाउने काम गर्न सरकारलाई राजेन्द्र लिङ्देनको सुझाव

शुक्रबार, २६ बैशाख, २०८२
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारको नीति तथा कार्यक्रम औपचारिकता पूरा गर्न आएको बताए । उनले भने, ‘सरकार आफैँ निराश छ, उत्साह छैन, विधि, नीति तथा कार्यक्रम विधि पुर्याउन ल्याइदिएजस्तो रहेको छ ।’ लिङ्देनले नीति तथा कार्यक्रम विगतभन्दा दुई–चार कुरामा मात्र फरक रहेको बताए । ‘अघिल्लो साल ८१ पेजको थियाे, अहिले ५६, पुरानै राम्रो,’ उनले भने ।

अध्यक्ष लिङ्देनले सरकार आफैँले यो व्यवस्था नै अनिश्चित छ भन्ने देखाएको भन्दै धन्यवाद दिए । उनले गणतन्त्र व्यवस्थाविरुद्ध फरक मत राख्न पाइने बताए । ‘फरक मत राख्नेकाविरुद्ध कानुन बनाउन पाइँदैन, यो संविधानले नै निषेधित गरेको विषय हो,’ उनले भने ।

अध्यक्ष लिङ्देनले संविधानले राजसंस्था आउन सक्ने प्रस्ट पारेको बताए । उनले भने, ‘नेपालको सार्वभौमिकता भौगोलिक अखण्डता, जनतामा निहित सार्वभौमिकताको प्रतिकूल हुने गरी संविधान संशोधन गर्न सकिनेछैन भनेपछि त्यसदेखि बाहेक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता त जहिल्यै पनि संशोधन गर्न सकिनेरहेछ भन्ने कुरा त यो संविधानले नै प्रस्ट पारेको छ ।’

सुझावित समाचार