कोशी प्रदेशमा माओवादीको जनसांगीतिक अभियान सुरु

बिहिबार, ११ बैशाख, २०८२
डिजिटल संस्करण

कोशी प्रदेशमा माओवादीले चुरे तराई लक्षित जनसांगीतिक नौदिने अभियान सुरु गरेको छ । माओवादीको केही दिनअघि बसेको प्रदेश सचिवालय बैठकको निर्णयअनुसार बुधबार उदयपुरको कटारीबाट उक्त अभियान सुरु गरेको हो ।

अभियानको उद्घाटन माओवादी उपमहासचिव तथा कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले गरेका छन् । उद्घाटनका क्रममा गजुरेलले तराई, मधेश जागरण अभियान जारी रहेको र मदन भण्डारी राजमार्गआसपास केन्द्रित भएर अभियान सुरु भएको बताए । समाजवादी क्रान्तिमा विदेशी शक्तिहरूलाई रोक्ने अभियानले उद्देश्य लिएको उनको बताए ।

कटारीबाट सुरु भएको अभियान बिहीबार गाईघाट आइपुगेको हो । माओवादी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो)का अनुसार १२ वैशाखमा उदयपुरको बेल्टार, १३ वैशाखमा सुनसरीको धरान, १४ वैशाखमा मोरङको केराबारी बजार, १५ वैशाखमा मोरङको मधुमल्ला बजार मिक्लाजुङ,  १६ वैशाखमा इलामको चुलाचुली, १७ वैशाखमा झापाको बुद्धशान्तिमा र १८ वैशाखमा झापाको बाहुनडाँगीमा पुगेर टुंगिनेछ। 

अभियानका क्रममा जनसांस्कृतिक महासंघ कोशी प्रदेशका कलाकारहरूले पार्टीको पक्षमा निर्माण गरिएका नाटक, गीत तथा सामूहिक नृत्य र कविताहरू सुनाउनेछन् । प्रदेश समितिको आयोजनामा गरिएको कार्यक्रमलाई स्थानीय पार्टीले व्यवस्थापन गरिरहेको नेम्वाङले बताए । 

सुझावित समाचार