युएईका उपप्रधानमन्त्री उच्चस्तरीय भेटवार्तामा

बिहिबार, ११ बैशाख, २०८२
डिजिटल संस्करण

नेपालको औपचारिक भ्रमणमा आएका संयुक्त अरब इमिरेट्स (युएई)का उपप्रधानमन्त्री तथा विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाह्यानले बुधबार शीर्ष नेताहरूसँग भेट गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीसँग शिष्टाचार भेट गरे । बुधबारै उनले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह नेतृत्वको नेपाली प्रतिनिधिमण्डलसँग द्विपक्षीय वार्ता गरेका छन् । 

शीतलनिवास पुगेका नाह्यानसँग राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका मुद्दामा काम गर्नुपर्नेमा जोड दिएका थिए । स्रोत–साधन आवश्यक भएका देशलाई जलवायु परिवर्तन र यसबाट सिर्जित क्षतिपूर्तिका लागि प्राविधिक र आर्थिक सहयोग प्रदान गर्नुपर्ने राष्ट्रपतिको भनाइ थियो । 

नेपाल र संयुक्त अरब इमिरेट्सले पहाडी र तटीय मुलुकहरूका रूपमा जलवायु परिवर्तनको प्रतिकूल प्रभावको साझा जोखिमको सामना गरिरहेको राष्ट्रपतिको भनाइ थियो । प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपति पौडेलले संयुक्त अरब इमिरेट्सले चार लाखभन्दा बढी नेपालीलाई रोजगारीको अवसर प्रदान गरेको धन्यवाद दिए । ‘युएई नेपालीका लागि दोस्रो घरका रूपमा रहेको छ । उनीहरूले दुई देशबिच जनस्तरको सम्बन्ध विस्तारका लागि जीवित पुलका रूपमा पनि काम गरिरहेका छन्,’ पौडेलले भने । युएई नेपालको चौथो ठूलो व्यापारिक साझेदार देश हो । 

‘हाम्रो द्विपक्षीय व्यापार अभिवृद्धि गर्न सकिने ठुलो सम्भावनामा निजी क्षेत्रको संलग्नतालाई प्रोत्साहित गर्नुपर्छ । संयुक्त अरब इमिरेट्सका लगानीकर्तालाई कृषि, खानी, जलविद्युत्, पूर्वाधार विकास, पर्यटन र आतिथ्य, सूचना प्रविधि र सेवा क्षेत्रजस्ता सम्भाव्य क्षेत्रहरूमा लगानी गर्न प्रोत्साहित होस् भन्ने चाहन्छौँ,’ राष्ट्रपतिले भने । अघिल्लो महिना रमजानका अवसरमा १८ जना नेपाली कैदीलाई आममाफी दिने र रिहा गर्ने संयुक्त अरब इमिरेट्सको मानवीय कदमका लागि उनले कृतज्ञता व्यक्त गरे । युएईका उपप्रधानमन्त्री नाह्यानले जलवायु न्यायका सम्बन्धमा राष्ट्रपति पौडेलका भावनालाई मार्गदर्शनका रूपमा लिने बताए ।

See More On

सुझावित समाचार