स्थानीय तहअन्तर्गत रहेका देशभरका ३३ नगर अस्पतालमध्ये उदयपुरको कटारी नगरपालिकामा रहेको कटारी अस्पताल ग्रिनजोनमा परी पहिलो भएको छ । न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रमअन्तर्गत संघीय सरकार र प्रदेश सरकारको संयुक्त अनुगमन टोलीको मापन विधिमा कटारी अस्पताल एक सय स्कोरमध्ये ८८ स्कोर प्राप्त गरी ग्रिनजोन पर्दै पहिलो भएको हो ।
कटारी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. गौरव साहले कटारी अस्पताल ग्रिनजोनमा पर्नु भनेको न्यूनतम सेवा मापदण्डको विधिमा अस्पताल गुणस्तरीय सेवा दिन अब्बल रहेको पुष्टि गरेको बताए । उनले भने, ‘अस्पताल र अस्पतालले दिने सेवा उत्कृष्ट भएको ठहर हुन्छ ।’
उक्त मापदण्डअनुसार ८५ देखि १०० को बिचमा स्कोर प्राप्त गर्ने ग्रिन (हरियो) जसमा उत्कृष्ट मानिन्छन् । ७० देखि ८४ बिचमा स्कोर पाउने बुल (निलो) सन्तोषजक, ५० देखि ६९ स्कोर पाउने एल्लो (पहेँलो) सुधार आवश्यक र ५० भन्दा कम स्कोर पाउने अस्पताल ह्वाइट (सेतो) कमजोर अर्थात् सुधार गर्न विशेष आवश्यक मानिन्छन् ।
साहका अनुसार यही मापदण्डमा रहेको कटारी अस्पताल ८८ स्कोर ल्याई पहिलो भएको छ भने महोत्तरीको बर्दीबास नगरपालिकामा रहेको बर्दीबास नगर अस्पताल ८१ स्कोर ल्याई दोस्रो भएको छ ।
प्रदेश स्वास्थ निर्देशनालयले ६–६ महिनामा न्यूनतम सेवा मापदण्ड लेखाजोखा कार्यक्रमअन्तर्गत मापन गर्ने गर्दछ । जसमा नगरपालिकाको स्वामित्वमा रहेका ३३ अस्पतालमध्ये कटारी अस्पताल ग्रिनजोनमा परी पहिलो हुँदै उत्कृष्ट साबित भएको छ।
विगत केही वर्षयता गुणस्तरीय सेवा दिँदै आएको कटारी अस्पतालले निरन्तर सेवा सुविधा बढाउँदै गइरहेको छ । प्रमुख साहका अनुसार कटारी अस्पतालमा चिकित्सकसहितको सरकारी स्वीकृत दरबन्दी २८ भए पनि हाल विभिन्न प्रकारका करारमा समेत गरी ५७ जना छन् । कटारी अस्पतालले दैनिक तीन सयको संख्यामा बिरामीलाई सेवा दिँदै आएको छ ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्रसिंह तामाङले सरकारी स्वीकृत बेड १५ भए पनि हाल स्थानीयस्तरबाट ४५ बेड सञ्चालनमा रहेको जानकारी दिए । उनले भने, ‘अस्पतालले हाल एमडिजिपी सेवा, जर्नल सर्जरी सेवा, परिवार नियोजन, प्याथोलोजीलगायतका सेवा दिँदै आइरहेको छ ।’ कटारी नगरपालिका– ४ वडाध्यक्षसमेत रहेका तामाङले कटारी अस्पताल प्रादेशिक अस्पतालमा स्तराेन्नति भइसकेकाे र अब आउने आर्थिक वर्षबाट कार्यन्वयनमा जाने बताए ।