सांसद दीपक सिंहले पोखरा विमानस्थलमा भ्रष्टाचार गर्नेलाई कारबाहीको माग गरेपछि सरकारले राप्रपाका नेताहरूलाई पक्राउ गरेको आरोप लगाएका छन्।
सिंहदरबारबाट प्रहरी नियन्त्रणबाट फुत्किएर बानेश्वर पुगेका सिंहले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। प्रहरीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र ज्ञानेन्द्र शाहीसँगै सिंहलाई नियन्त्रणमा लिए पनि उनी फुत्केर बानेश्वर पुगेका थिए।
पोखरा विमानस्थलमा १४ अर्ब भ्रष्टाचार भएको दाबी गर्दै उनले भने, ‘राप्रपा जहिले पनि जनताको आवाजमा छ, जतिसुकै यिनीहरूले हामीलाई धरपकड गरोस् हामी दब्नेवाला छैनौँ।’ लिङ्देनको संयोजकत्वमा लेखा समितिले गठन गरेको १० सदस्यीय उपसमितिले विमानस्थल निर्माण गर्दा १० अर्बभन्दा बढी भ्रष्टाचार भएको ठहर गरेको थियो।
आफूहरूले पहिले नै निषेधित क्षेत्र तोड्ने जानकारी गराएको उल्लेख गर्दै सिंहले भने, ‘हामीले अस्ति नै भनिसकेका थियौँ निषेधित एरिया तोड्छौँ। हामीले प्रधानमन्त्री, गृहमन्त्री बस्ने कार्यालय सिंहदरबारबाटै तोडेर देखाइदिएका छौँ।’