काठमाडौंको मनहरामा जग्गा बैना गर्न बोलाएर ६० लाख लुटपाट भएको छ । लुटपाटमा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । गत २७ चैतमा काठमाडौं महानगरपालिका– ३२ मनहरा प्लानिङमा रितेश लामाको ६० लाख लुटिएको हो ।
नवराज खनाल नाम गरेका व्यक्तिले बौद्धका रितेश लामालाई बैनाका लागि बोलाएर पैसा लुटेर कारमा फरार भएको प्रहरीले जनाएको छ । सो घटनामा संलग्न १८ जनालाई पक्राउ गरी डाँकाचोरी मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले बताए ।
पीडितले जग्गा बैनाको रकम लुटिएको बताएपछि अन्य कारोबार हुन सक्ने प्रहरी आशंका छ । प्रहरीले पक्राउ परेकाबाट ३० लाख एक हजार रुपैयाँ बरामद गरेको छ । ‘घटना शंकास्पद छ, जग्गा बैनाका लागि भनिए पनि अन्य कुनै अवैध कारोबारको सूचना छ, विस्तृत अनुसन्धान भइरहेको छ,’ परिसरका एक अधिकारीले भने ।
पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वरका राज पराजुली, सुयोज लामा, रामेछापका हरिराम खत्री, राजेश भण्डारी, सार्की माझी, उत्तम मगर, राजु मगर, टीकाबहादुर मगर, रमेश मगर, लबहादुर मगर, रूपक थापामगर, कोसागर मगर, सोलुखुम्बुका कुशल बस्नेत, काभ्रेपलाञ्चोकका रञ्जित लामा, दावा लामा, बाबु तामाङ, सुजन लामा र सिन्धुपाल्चोकका रिबेलकुमार तामाङ छन् ।
*रितेश लामाको रकम लुटिएको हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएकाे छ । -सम्पादक