तेस्रो नेपाल सुपर लिग : साबिक विजेता ललितपुर प्ले अफमा

आइतबार, ३० चैत, २०८१
डिजिटल संस्करण

साबिक विजेता ललितपुर सिटी एफसी तेस्रो नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्ने पहिलो फ्रेन्चाइज टोली बनेको छ । ललितपुरले दशरथ रंगशालामा शनिबार अंक तालिकाको पुछारमा रहेको बुटवल लुम्बिनी एफसीलाई २–० ले हराउँदै प्ले अफ स्थान पक्का गरेको हो । ललितपुरलाई अघिल्लो चरणमा पुर्याउने क्रममा अनन्त तामाङ र सन्तोष खत्रीले समान एक गोल गरेका थिए । लगातार चार खेल गुमाएको बुटवलको प्ले अफमा गणितीय आधारसमेत समाप्त भएको छ । 

ललितपुरले पाँच खेबलाट सर्वाधिक ११ अंक जोडेको छ । जितविहीन बुटबलको एक अंक मात्र रहेको छ । लिगको शनिबारै भएको पहिलो खेलमा पोखरा थन्डर्सले झापा एफसीलाई १–१ को बराबरीमा रोकेको थियो । ललितपुरले बुटवलविरुद्ध चार विदेशी खेलाडी मैदानमा उतारेको थियो । लुम्बिनीले तीन खेलाडीलाई पहिलो रोजाइमा राखेको थियो । ललितपुरले पहिलोपटक नेपाली गोलरक्षक सुमित श्रेष्ठलाई प्लेनिङ ११ मै राख्यो । अघिल्लो खेलमा विदेशी गोलरक्षक जेफ्री बाल्टुस घाइते हुँदा सुमितले लुम्बिनीविरुद्ध मौका पाएका हुन् । 

प्रतिस्पर्धामा सुरुवाती केही मौका गुमाएको ललितपुरले २३औँ मिनेटमा १–० को अग्रता लियो । डिफेन्डर अनन्तले हेडिङ गोल गरी ललितपुरलाई अग्रता दिलाएका हुन् । उनले मणिकुमार लामाको कर्नरमा गोल गरेका हुन् । त्यसपछि खेलको ९०औँ मिनेटमा ललितपुरले २–० को अग्रता लियो । यसपटक ललितपुरलाई सन्तोषले दोहोरो अग्रता दिलाए । उनले इमोह इजेकेलको पासमा सहजै गोल गर्न सफल भए । बुटवलका गोलरक्षक दीप कार्कीले सन्तोषको प्रहार छेक्न कुनै अवसर पाएनन् । एक गोलले पछाडि परेको बुटवलले निरन्तर रूपमा बराबरी गोल प्रयास जारी राखेको थियो । खेलको २६औँ मिनेटमा बुटबलले एउटा राम्रो मौका गुमाएको थियो ।

सुझावित समाचार