सामान्य बाढीले नै भाँचियो निर्माणाधीन पक्की पुल

शुक्रबार, २८ चैत, २०८१
डिजिटल संस्करण

वर्षासँगै आएको सामान्य बाढीले सिद्धिचरण लोकमार्गको उदयपुर खण्डमा निर्माणाधीन पक्की पुल भाँचिएको छ । कटारी नगरपालिका– २ सिमानपुरको अमाहा खोलामा बन्दै गरेको पक्की पुल काम नलाग्ने गरी भाँचिएको हो । 

मिर्चैया–कटारी–घुर्मी सडक आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी वीरेन्द्रप्रसाद महतोले बुधबार राति हावाहुरीसँगै आएको वर्षा र बाढीले निर्माणाधीन अवस्थामा रहेको पक्की पुल भाँचिएको बताए । उनले भने, ‘चैतमै आएको बाढीले निर्माणाधीन पुल बिचभागमा भाँचिएको छ । पुल सेटिङमा प्रयोग भएका टेकालाई बाढीले बगाएपछि पुल भाँचिएर काम नलाग्ने भएको हो ।’

 यही निर्माण कम्पनीले बनाउँदै छ अरू तीनवटा पुल 
२९ असार ०७९ मा उक्त पुल निर्माण गर्ने जिम्मेवारी सूर्य एन्ड सन्स प्रालि धरानले पाएको थियो । सम्झौतामा २९ असोज ०८२ भित्र पुल निर्माण सम्पन्न हुनुपर्ने उल्लेख छ । निर्धारित समयमा काम सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको थियो । ५० मिटर लम्बाइ भएको सिंगल स्पानको उक्त पुल ढलान गरेको २० दिनमै ढलेको महतोको भनाइ छ ।

उक्त पुलसहित लोकमार्गका चारवटा पुल निर्माण गर्ने गरी निर्माण कम्पनीले भ्याटसहित २८ करोड ९९ लाख ५२ हजारमा सम्झौता गरेको थियो । कम्पनीले लोकमार्गमै पर्ने गिद्धवर खोला, खोक्सा खोलामा पनि पुल निर्माण गरिरहेको छ । महतोले भने, ‘ताराघारी खोलाको पुल भने सुरु नै भएको छैन ।’

महतोका अनुसार भाँचिएको सिमानपुरको अमाहा खोलाको पुल, निर्माण जारी रहेको गिद्धवर खोला, खोक्सा खोलाको पुल र निर्माण सुरु नभएको ताराघारी खोलाको पुल आगामी असोजमै सक्नुपर्ने भए पनि ढिलो सुरु भएको जानकारी दिए । उनले भने, ‘भाँचिएको पुल अब ठेकेदार कम्पनीले नै बनाउनुपर्ने हुन्छ ।’

सूर्य एन्ड सन्स प्रालि धरानका निर्देशक निमेश श्रेष्ठले बाढीकै कारण पुल ढलेको बताए । उनले भने, ‘यो प्रिस्टे«स्ड प्रविधिको पुल हो । ढलान गरेपछि खोल्नुपर्ने थियो । ढलान गर्दा टेको दिइएको हुन्छ । बाढीले टेकोमा क्षति पुर्याउँदा पुल ढल्यो । अब पुनः बनाउनुपर्ने भयो । अन्य दुईवटा पुल बनाउँदै छौँ, एउटाको सुरु गर्न बाँकी छ ।’

कच्ची संरचनाका कारण पुल ढलेको भन्दै स्थानीय आक्रोशित बनेका छन् । वषौँदेखि पुलबाट खोला तर्ने आशा लिएका स्थानीयको सपना पुलसँगै ढलेको छ । सरकारी निकायको लापरबाहीले पुल ढलेको कटारी नगरपालिका– २ का नवराज बास्तोलाले आरोप लगाए । उनले भने, ‘समय–समयमा यो पुलको अनुगमन गरिराखेको भए आज सामान्य बाढीले ढल्दैन थियो ।’ 

हावाहुरी र पानीले गहुँ बालीमा क्षति, किसान चिन्तित 
लहान/ भित्र्याउन लागेको गहुँ बालीमा हावाहुरीसँगै आएको पानीले क्षति पुर्याएको छ । काट्ने तयारी गरिएको, कटिसकेको गहुँ पानीले भिजेपछि किसान चिन्तित भएका छन् । हावाहुरीसँगै बुधबार राति परेको पानी बारीमा जमेर गहुँ भिजेपछि भित्र्याउन समस्या भएको सिराहाको लहान नगरपालिका– १९ का किसान रामउद्गार साहले गुनासो गरे ।

‘गहुँ छरेदेखि फल्ने वेलासम्म पानी परेन,’ उनले भने ‘बोरिङको पानी पठाएर उब्जाएको गहुुँ भित्र्याउने वेलामा बर्खाले बिगार्यो ।’ मधेश प्रदेश सरकारमातहत रहेको कृषि ज्ञान केन्द्र सिराहाले जिल्लाका १७ स्थानीय तहमा गएराति हुरीबतास र बर्खाले भित्र्याउन लागेको गहुँमा क्षति पुगेको जनाएको छ । केन्द्रकी सूचना अधिकारी किरण विश्वकर्माले सम्बन्धित पालिकाअन्तर्गत रहेका कृषि शाखामार्फत हुरीबतास र बर्खाले गहुँमा पुर्याएको क्षतिबारे बुझ्ने काम भइरहेको बताइन् । उनका अनुसार गत वर्ष जिल्लामा २२ हजार हेक्टरमा गरिएको गहुँको उत्पादन ५२ हजार आठ सय मेट्रिकटन भएको थियो । ‘योपल्ट गत वर्षको तुलनामा करिब पाँच प्रतिशत बढी उत्पादन हुने अनुमान गरिएको छ,’ उनले भनिन्, ‘उत्पादन भएको पनि हो, तर बर्खाले केही क्षति पुर्यायो ।’ 

सुझावित समाचार