आइपिएल–२०२५ : पन्जाबको दोस्रो जित

बुधबार, १९ चैत, २०८१
डिजिटल संस्करण

१८औँ इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सले दोस्रो जित निकालेको छ । पन्जाबले मंगलबार आइपिएलको १३औँ खेलमा लखनउ सुपर जायन्टमाथि आठ विकेटको सानदार जित हात पारेको हो । घरेलु मैदानमा पहिलो ब्याटिङ गरेको लखनउले सात विकेट गुमाएर १७१ रन बनाएको थियो ।

प्रत्युत्तरमा पन्जाबले १६.२ ओभरमा दुई क्षतिमा १७७ रन बनाएको थियो । जितका साथ चार अंक जोडेको पन्जाब दोस्रो स्थानमा उक्लेको छ । लखनउले तीन खेलमा दुई हार र एक जित निकालेको छ । दुई अंकका साथ लखनउ छैटौँ स्थानमा झरेको छ । 

१७२ रन लक्ष्य पछ्याएको पन्जाबका लागि प्रभसिंरन सिंहले सर्वाधिक ६९ रनको योगदान दिए । उनले ३४ बलमा नौ चौका र तीन छक्का प्रहार गरेका थिए । यसैगरी, कप्तान श्रेयश अयरले ३० बलमा चार छक्का र तीन चौकाको सहयोगमा ५२ रन बनाए । नेहाल बाधेराले २५ बलमा तीन चौका र चार छक्का प्रहार गरी ४३ रन जोडे ।

प्रभसिंरन र कप्तान श्रेयशबिच दोस्रो विकेटका लागि ८४ रनको साझेदारी भएको थियो । श्रेयशले नेहालसँग तेस्रो विकेटका लागि अविजित ६७ रन जोडेका थिए । यसअघि लखनउको ब्याटिङमा निकोलास पुरनले सर्वाधिक ४४ रन जोड्न ३० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । पन्जाबका अर्सदीप सिंहले ४३ रन खर्चेर तीन विकेट हात पारे । 

सुझावित समाचार