भारतमा तीर्थयात्रामा हिँडेका दाङ तुलसीपुरका चारजनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । दाङको तुलसीपुरबाट भारतमा तीर्थयात्राका लागि गएको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पिओ भारतको बहराइचमा बिहीबार दुर्घटना भएको जनाइएको छ ।
सोही दुर्घटनामा परी गाडीचालक तुलसीपुर उपमहानगरपालिका– ७ पर्सेनीनिवासी ३७ वर्षीय युवराज चापागाईं र सोही वडाका जितबहादुर वलीसहित चारजनाको मृत्यु भएको तुलसीपुर– ७ का वडाध्यक्ष रामबहादुर जिसीले जानकारी दिए।
अन्य दुईजनाको पहिचान हुन बाँकी छ । अन्य दुईजना पनि तुलसीपुरनिवासी नै रहेको वडाध्यक्ष जिसीले बताए । गाडीमा नौजना सवार रहेको र सबै तुलसीपुरकै रहेको खुलेको छ । गाडीमा सवार अन्य पाँचजना घाइते छन् । उनीहरूको भारतमै उपचार भइरहेको जनाइएको छ ।