कर्मनासाको १० रोपनी जग्गा खोज्दै प्रहरी

मालपोत र नापी कार्यालयको मिलेमतोमा सार्वजनिक जग्गा व्यक्तिको नाममा लैजाने आठ प्रहरी हिरासतमा

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण

ललितपुरको हात्तीवन हुँदै इमाडोलतर्फ बग्ने कर्मनासा खोलाको जग्गा व्यक्तिको नाममा गर्ने प्रकरणमा मुछिएका आठजनालाई प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । सेटिङमा खोलाको जग्गा व्यक्तिका नाममा गरेकामध्ये राधेश्याम श्रेष्ठ, सुजिता खड्का, सानुकृष्ण महर्जन, सानुबाबु डंगोल, प्रवेश डंगोल, केशव थापा, सनम महर्जन र राजु महर्जन यतिवेला जिल्ला प्रहरी परिसरको हिरासतमा छन् । 

पक्राउ पर्ने सबै जग्गा कारोबारी हुन् । आठमध्ये दुईजनाको मात्र प्रहरीले बयान लिएको छ । बाँकी ६ जनाको बयान सकिएपछि मात्रै यसबारे यकिन तथ्य फेला पार्न सकिने जिल्ला प्रहरी परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए । हात्तीवन क्षेत्रका वातावरण अभियन्ता तथा स्थानीयवासीले खोलाको जग्गा व्यक्तिका नाममा लैजानेविरुद्ध गत भदौमा प्रहरीमा उजुरी दिएका थिए । उजुरी परेको तीन महिनापछि प्रहरीले मंसिरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो । यसबारे केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) र जिल्ला प्रशासन कार्यालय ललितपुरमा पनि उजुरी परेको थियो । सोही आधारमा जिल्ला प्रहरी परिसरले ०६८ को फाइलको ठेली नापी र मालपोत कार्यालयबाट झिकाएर फाइल खोलेको हो । 

  • एसएसपी श्यामकृष्ण अधिकारी, ललितपुर प्रहरी परिसर
  • खोलाको जग्गा व्यक्तिको नाममा गरेकोबारेमा गहन अध्ययन थालेका छौँ, बल्ल फाइलकोे ठेली मगाएका छौँ । जग्गा व्यक्तिको नाममा लैजान ०६८ मै सेटिङ भएको देखिन्छ, अध्ययन गरिरहेकाले थप विषय पछि सार्वजनिक गर्नेछौँ ।

‘खोलाको जग्गा व्यक्तिको नाममा गरेकोबारे गहन अध्ययन थालेका छौँ, बल्ल फाइलकोे ठेली मगाएका छौँ,’ एसएसपी अधिकारीले भने, ‘जग्गा व्यक्तिको नाममा लैजान ०६८ मै सेटिङ भएको देखिन्छ, अध्ययन गरिरहेकाले थप विषय पछि सार्वजनिक गर्नेछौँ ।’ उजुरीका आधारमा पक्राउ गर्नुपर्ने व्यक्ति दशजना भए पनि एकजना विदेश र अर्का एकजनाको नाम धेरैजनासँग जुधेकाले थप अनुसन्धान भइरहेको उनले बताए ।

कर्मनासाको १० रोपनी जग्गा गायब भएको प्रहरीको ठहर छ । खोलाको जग्गा हडपेर दुई आना भएका व्यक्तिले दश आना र पाँच आना भएका व्यक्तिले १५ आनासम्म आफ्नो नाममा बनाएका थिए । यो सबै काम नापी र मालपोत कार्यालयसँगको मिलेमतोमा सम्भव भएको थियो । मालपोतका कर्मचारीले समेत कागजात किर्ते गरी खोलाको जग्गा व्यक्तिका नाममा गरेको प्रहरीको ठहर छ । प्रहरीले तत्कालीन समयका कर्मचारीबारे पनि छानबिन थालेको छ । ‘त्यतिबेला जग्गा प्रकरणमा मुछिएका सबैजसो कर्मचारी अवकाशप्राप्त भइसकेका छन्, कोही कता कोही कता छन्, हामीले यसबारेमा सूक्ष्म अध्ययन गरिरहेका छौँ,’ एसएसपी अधिकारीले भने, ‘यस्तो काम ०६८ मा भएको रहेछ, त्यतिवेला जग्गा कारोबार गर्ने व्यक्ति र कर्मचारीको मिलेमतोमा खोलाको जग्गा हडपिएको रहेछ ।’ 

खोलाको जग्गा व्यक्तिको नाममा गर्न खोलाको धार नै परिवर्तन गरिएको थियो । इमाडोल तथा सिलौटे क्षेत्रमा खोलालाई दायाँ–बायाँ मोडिएको छ । कर्मनासा नेपालको एक मात्र उत्तरतर्फ बग्ने खोला हो । तर खोलाको अधिकांश भूभाग अक्रिमणको चपेटामा परेको छ । 

प्रहरीले पक्राउ गरेकामध्ये सबैभन्दा बढी जग्गा व्यक्तिको नाममा लैजाने सुजिता खड्का हुन् । उनको खास जग्गा पाँच आना भए पनि खोलाको अन्य १० आना जग्गा हडपेर १५ आना बनाएकी छिन् । त्यसपछि केही जग्गा उनले अन्य व्यक्तिलाई समेत किनबेच गरेको खुलेको छ । जग्गा नक्सा र किर्ते कागजातमै चोरिएको छ । त्यसमा कर्मचारीको प्रत्यक्ष मिलेमतो रहेको प्रहरीको आशंका छ, तर को–को कर्मचारी मुछिएका भनी उनीहरूको विवरण खोजी गरिरहेको एसएसपी अधिकारीले बताए । कर्मनासा खोला धेरै स्थानमा अतिक्रमणमा परेको छ । विशेष अदालतले १५ माघ ०८० मा कर्मनासा खोलाको जग्गा हिनामिना गरेको आरोपमा युरो हाउजिङ र युरो ल्यान्ड डेभलपर्सका सञ्चालक गुणीकाजी महर्जन, योगेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बबिन मानन्धर र उज्ज्वल मानन्धरलाई दोषी ठहर गरेको थियो ।

See More On

सुझावित समाचार