नेपाल–भारतबिच सीमा व्यवस्थापनबारे गृह मन्त्रालयका सहसचिवस्तरीय बैठक बिहीबारदेखि पोखरामा सुरु भएको छ । सीमा व्यवस्थापनबारे संयुक्त कार्य समूह (जेडब्लुजी)को १३औँ बैठक शुक्रबार सम्पन्न हुनेछ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेडब्लुजीको बैठक स्वीकृत गरेको थियो । नेपालका तर्फबाट गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले बैठकको नेतृत्व गरेका छन् । भारतबाट पनि गृह मन्त्रालयका सहसचिव नेतृत्वको १९ सदस्यीय प्रतिनिधिमण्डल बैठकमा सहभागी रहेको गृह मन्त्रालयका सहायक प्रवक्ता रबिन्द्र आचार्यले बताए।
हरेक वर्ष बस्नुपर्ने यस्तो बैठक तीन वर्षपछि बस्न लागेको हो । यसअघि सन् २०२२ मा भारतमा बैठक बसेको थियो । सीमा क्षेत्रमा देखिएका समस्या समाधानका लागि समन्वयको उद्देश्यले यस्तो संयन्त्र बनाई छलफल हुँदै आएको छ । सीमा सुरक्षासम्बन्धी विषय बैठकमा छलफल भएको एक अधिकारीले बताए।
बैठकमा सुरक्षा निकाय, परराष्ट्र तथा नापी विभागका अधिकारीसमेत सहभागी हुनेछन् । बैठकमा सीमास्तम्भ मर्मत तथा पुनस्र्थापनका विषयमा पनि छलफल हुनेछ । खुला सीमाका कारण हुने अन्तरदेशीय अपराध दुवै देशको चासोको विषय छ । खासगरी भारतबाट भित्रिने लागुऔषध नेपालका लागि सबैभन्दा ठुलो समस्या बन्दै आएको छ । लागुऔषधको तस्करी नियन्त्रणका लागि भारतले सहयोग नगरेको गुनासो नेपाली अधिकारीको छ ।