काठमाडौं उपत्यकामा सुरक्षा प्रबन्ध गर्न सरकारलाई आयोगको निर्देशन

बिहिबार, १४ चैत, २०८१
डिजिटल संस्करण

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौं उपत्यकामा शान्तिसुरक्षाको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ।

बिहीबार प्रेस वक्तव्य जारी गर्दै आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले समाजवादी मोर्चा र राजतन्त्र समर्थकको शक्ति प्रदर्शनलाई लक्षित गरी सुरक्षा व्यवस्था गर्न भनेका हुन्।

प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आग्रह गर्दै वक्तव्यमा भनिएको छ, ‘आफ्नो विचार र अभिव्यक्तिको स्वतन्त्रताको अधिकारको प्रयोग गर्दा देशको संविधान र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानहरूको पालनामा संवेदनशील हुँदै अरूको अधिकारमा बाधा पर्नेतर्फ सचेत रहन र आफ्ना प्रदर्शनका कार्यलाई शान्तिपूर्ण बनाउन आयोग प्रदर्शनरत पक्षलाई अपिल गर्दछ।’

यस विषयमा आयोगले काठमाडौं र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफलसमेत गरेको छ।

शान्तिसुरक्षाको व्यवस्था मिलाउँदा मानव अधिकारप्रति संवेदनशील हुन पनि आयोगले सरकारलाई आग्रह गरेको छ।

सुझावित समाचार