१० वर्षमा ३३ हजार सैनिकका परिवारलाई सहुलियतपूर्ण कर्जा

बिहिबार, १३ चैत, २०८१
डिजिटल संस्करण

पूर्वसैनिकहरू जागिर छाडेर विदेश मात्र गइरहेका छैनन्, स्वदेशमै उद्यमी बन्ने क्रम पनि बढेको छ । नेपाली सेनाको सैनिक कल्याणकारी बोर्डले प्रदान गर्ने सहुलियतपूर्ण कर्जाले धेरै पूर्वसैनिक तथा उनीहरूको परिवारलाई उद्यमी बनाउन सघाएको छ । त्यसमध्ये एक हुन्, सुर्खेतको लेखबेँसी गाउँपालिका– ५ का पूर्वहुद्दा कृष्णबहादुर रमौली । उनले ६ वर्षअघि सात लाख रुपैयाँ ऋण लिएर गाउँमै प्रिस्किला कृषि तथा पशुपन्छी फार्म सञ्चालन थालेका थिए । अहिले उनी नमुना किसान बनेका छन् । कुुखुरा र बंगुर पालन गरिरहेका उनी शुक्रबार सुर्खेतमा आयोजित भूूपू सैनिक सम्मेलनमा प्रधानसेनापति अशोकराज सिग्देलबाट सर्वाेत्कृष्ट कृषकका रूपमा सम्मानित भए । 

‘पहिला लघुवित्तबाट ऋण लिएको थिएँ, त्यसको ब्याजको ब्याज तिर्नुपर्दा घाटा भयो,’ कृष्णबहादुर भन्छन्, ‘सेनाको कल्याणकारीबाट सहुलियतको ऋण पाएपछि धेरै सहज भयो, १० वटा बंगुर र ब्रोइलर कुखुराको फार्म चलाएको छु, राम्रै आम्दानी भइरहेको छ, दुईजनालाई गाउँमै रोजगारी पनि दिएको छु । यसकै आम्दानीले ५–६ जना टुहुरा बालबालिकालाई पढाउँदै आएको छु ।’ पूर्वसैनिकहरू जागिर छाडेर धेरै विदेश जाने गरेको भए पनि स्वदेशमै यसरी सहुलियत कर्जा लिएर धेरै काम गर्न सकिने उनको सुझाव छ । 

बाँकेको कोहलपुर– ६ की एकल महिला शोभा बिसी पनि अहिले एसआइडी गार्मेन्टको मालिक बनेकी छिन् । पूर्वसैनिककी श्रीमती भएका आधारमा उनले सहुलियतपूर्ण कर्जा पाएकी हुन् । सुरुमा उनले तीन लाख लिएर कस्मेटिक पसल चलाएकोमा पछि फेन्सी पसल चलाइन् । फेन्सी पसलबाट पनि राम्रो भएपछि अहिले गार्मेन्ट उद्यमी भएकी छिन् । नौजना कर्मचारी राखेर व्यवसाय चलाउँदै आएकी उनी भन्छिन्, ‘सहुलियतपूर्ण कर्जाले नै आज कस्मेटिक पसलदेखि गार्मेन्ट उद्यमी बन्न पाएकोमा खुसी छु ।’ उनी पनि शुक्रबार सुर्खेतमा लुम्बिनी प्रदेशबाट सर्वाेत्कृष्ट उद्यमीका रूपमा पुरस्कृत भएकी छिन् । 

कैलालीको गोदावरी नगरपालिका– ३ मा भागेश्वर बाख्रा फार्म चलाउँदै आएकी कलावती बुढामगरको जिन्दगी पनि सेनाको सहुलियतपूर्ण कर्जाले फेरिएको छ । करिब ६ वर्षअघि एक लाख रुपैयाँ कर्जा लिएर उनले व्यावसायिक बाख्रा पालन सुरु गरेकामा अहिले यसबाट वर्षमा तीन–चार लाख रुपैयाँ आम्दानी हुने गरेकी उनी बताउँछिन् । ‘बाख्रा पालनबाटै तीन छोरालाई पढाएँ,’ उनी भन्छिन्, ‘श्रीमान् पनि अवकाशपछि यसैमा लाग्नुभएको छ ।’ बिहीबार कैलालीमा आयोजित भूपू सैनिक सम्मेलनमा सुदूरपश्चिमको सर्वाेत्कृष्ट उद्यमीका रूपमा उनी सम्मानित भएकी छिन् । आफूहरूले उत्पादन गरेका सामान सेनाकै ब्यारेकमा खरिद गर्ने नीति भएमा आफूहरूलाई अझै प्रोत्साहन मिल्ने उनको सुझाव छ । 

कञ्चनपुरकी एकल महिला विमला श्रेष्ठले पनि कल्याणकारी बोर्डले प्रदान गरेको सहुलियत कर्जाबाट रोजी मल्टी ट्रेड कन्सर्न स्थापना गरी व्यवसाय बढाउँदै आएकी छिन् । अझै धेरै कर्जा दिए व्यवसाय अझै विस्तार गर्ने आफ्नो योजना रहेको विमलाको भनाइ छ । उनी सुदूरपश्चिमबाट उत्कृष्ट उद्यमीका रूपमा सम्मानित भएकी छिन् । 

विनाधितो १५ लाखसम्म दिइन्छ कर्जा 
सेनाका अवकाशप्राप्त सैनिक तथा आश्रित परिवार एवं बहालवाला सैनिकका परिवारको जीवनस्तर उत्थानका लागि १० वर्षअघि नेपाली सेनाले सहुलियतपूर्ण कर्जा कार्यक्रम सुरु गरेको हो । कल्याणकारी बोर्डका कार्यकारी प्रमुख पूर्वरथी गौरव तन्डुलका अनुसार हालसम्म ३३ हजार २७९ जनालाई यस्तो कर्जा प्रदान गरिएको छ । अवकाशप्राप्त तथा एकल महिलातर्फ २३ हजार १८५ तथा बहालवालातर्फ १० हजार ९४ जना गरी सात अर्ब ६७ करोड ६२ लाख कर्जा प्रदान गरिसकेको छ । बोर्डले नेपाल इन्भेस्टमेन्ट बैंकसँगको सहकार्यमा विनाधितो १५ लाख रुपैयाँसम्म यस्तो कर्जा उपलब्ध गराउँदै आएको छ । यस्तो कर्जाले धेरै पूर्वसैनिक तथा उनीहरूको परिवारलाई उद्यमी बनाएको र विदेश पलायनसमेत रोकेको सैनिक अधिकारीहरू बताउँछन् । 

इन्भेस्टमेन्ट मेगा बैंकका कृषि विभागका प्रमुख अमन श्रेष्ठका अनुसार कल्याणकारी बोर्डसँगको सहकार्यमा बहालवाला तथा पूर्वसैनिकहरूलाई देशभरिकै शाखाबाट सहज रूपमा यस्तो कर्जा उपलब्ध गराइँदै आइएको छ । अहिले यस्तो कर्जामा २.३७ प्रतिशत मात्र ब्याज पर्ने उनको भनाइ छ । 

See More On

सुझावित समाचार