अक्टोबर ७, २०२३ मा इजरायलमाथि हमासको आक्रमणपछि जवाफी इजरायली आक्रमणमा इरान–समर्थित ‘प्रोक्सीहरू’– हमास र हिजबुल्लाह उल्लेख्य रूपमा कमजोर भएका छन् । तर, अझै पनि अर्को इरानी प्रोक्सी हुथी समूह तुलनात्मक रूपमा सबल छ । इजरायलले गाजामाथि आक्रमण गरिन्जेल हुथीले लाल सागरबाट हुने ढुवानीलाई निसाना बनायो । जनवरीमा इजरायल र हमासबिच युद्धविराम र बन्धक सम्झौताको घोषणापछि मात्र उसले आक्रमण रोकेको थियो । त्यतिवेला उसले गाजामाथि कारबाही भए पुनः आक्रमण सुरु गर्ने चेतावनी दिएको थियो ।
नभन्दै इजरायलले गाजामा मानवीय सहायता प्रवेश गर्न रोक लगाएको प्रतिक्रियामा मार्च ११ मा हुथी समूहले लाल सागरमा आक्रमण पुनः सुरु गर्ने घोषणा ग¥यो । पछिल्लो समय अमेरिकाले यो समूहमाथि तीव्र हवाई आक्रमणको निसाना बनाइरहेको छ । यसअघि अमेरिकाले हुथीका निश्चित निसानामा मात्र आक्रमण गर्ने नीति लिएको थियो । ट्रम्पको नेतृत्वमा यस नीतिमा परिवर्तन आएको छ । अहिले यमनको निकै फराकिलो क्षेत्रमा व्यापक बमबारी गरिएको छ । बमबारीको उद्देश्य हुथी समूहलाई नियन्त्रणमा राख्नेभन्दा पनि उसको क्षमता कमजोर बनाउनु रहेकोे छ । सैन्य सामथ्र्यका अतिरिक्त राजनीतिक नेतृत्वलाई समेत निसाना बनाउने निर्णयले हुथीहरूले लाल सागरमा सिर्जना गरेको तत्कालीन सैन्य खतरा घटाउने मात्र होइन, संगठनात्मक संरचनालाई ध्वस्त पार्ने इच्छालाई संकेत गर्दछ ।
हुथी समूह अर्को हिजबुल्लाह बन्ला ?
हुथी एक सशस्त्र समूह मात्र होइन । यसले विद्रोही आन्दोलनको रूपमा यमनको युद्ध अर्थतन्त्रको नेतृत्व गर्छ, जहाँ उनीहरूले इन्धनदेखि चुरोटसम्मका वस्तुहरूको अवैध तस्करीबाट नाफा कमाइरहेका छन् । सँगसँगै उसले राजधानी साना र त्यसवरपरको उत्तरी यमनमा पकड बनाएकाले त्यहाँ राज्य संयन्त्रको पनि अभ्यास गर्छ । शासन संयन्त्रमाथिको पकडका कारण उसले राज्य संयन्त्रले उठाउने कर राजस्वको पनि सुविधा उपभोग गरिरहेको छ ।
अमेरिकी सैन्य आक्रमण लामो समय चल्यो भने यमनको बन्दरगाह र तस्करी सञ्जालमाथिको हुथीहरूको पकडलाई कमजोर बनाउन सक्छ । यही पकडमार्फत उसले अवैध सामानको व्यापार र दोहोरो काममा प्रयोग हुने उपकरण सहजै खरिद गर्दै आएको छ । केही वर्षदेखि हिजबुल्लाह र इरानको ‘इस्लामिक रिभोलुस्नरी गार्ड कोप्र्स (आआरजिसी)’ले हुथीहरूलाई प्राविधिक तालिम र गुप्तचर साझेदारी प्रदान गरिरहेको सूचना छन् । डिसेम्बरमा सिरियामा बसर अल–असदको सत्ता ढलेपछि पूर्वी लेबनान र सिरियामा रहेका हिजबुल्लाह कमान्डर तथा लडाकु यमनको हुथी–नियन्त्रित क्षेत्रहरूमा आउने क्रम बढेको देखाएको छ । हिजबुल्लाह र हमास रणनीतिक रूपमा खस्केकाले यमनतर्फको आवागमन बढेको हो ।
हिजबुल्लाहको रक्षात्मक र आक्रामक क्षमतामा गिरावट आएपछि इरान समर्थित समूहहरू(प्रोक्सी)मध्ये हुथी अहिले सबैभन्दा उच्च क्षमतावान् र पैसा भएको गैरराज्य सशस्त्र समूहको रूपमा देखापरेको छ । इरानबाहेक हुथीहरूले अलग रूपमा अल–कायदाको सोमाली शाखा ‘अल–सबाब’ र अरबी प्रायद्वीपमा अल–कायदासँग सहकार्य गर्छ । अहिले भइरहेको तीव्र अमेरिकी आक्रमणले यस क्षेत्रभरि कायम सशस्त्र समूहको एकताको परीक्षा लिनेछ ।
पछि हट्ने र शक्ति हासिल गर्ने ?
हिजबुल्लाह आफ्नो सैन्य क्षमता पुनर्निर्माण गर्न पछि हटेको वेला हुथीहरू इजरायलविरुद्ध सैन्य कारबाहीमा उत्रिने गरी आत्मविश्वासी देखिएका छन् । हुथीहरूले अहिले कुनै समय हिजबुल्लाहले खेल्ने गरेको भूमिका खोजिरहेका छन् । सँगसँगै हुथीहरूले इराकमा आफ्नो उपस्थिति बढाएका छन् । बगदादमा समूहको ब्युरो नै छ भने अन्य सहर किर्कुक र दक्षिणी इराकमा पनि यसका साना शाखा कार्यालय छन् । हुथीहरूले आफ्ना केही कारबाही यमनबाट इराकमा स्थानान्तरण गरेका छन् । इरानी हितका खातिर सञ्चालित हुने इराकी वित्तीय प्रणालीबाट फाइदा लिन तिनले कैयौँ ‘सेल’ कम्पनीसमेत खोलेका छन् ।
इरानले ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र विकासमा हुथीहरूलाई मद्दत गरेको छ । तेहरानले समूहलाई एक बहुमूल्य सहयोगीको रूपमा हेर्छ । हिजबुल्लाह, हमास र असद शासनमाथि अर्बौँ डलर खर्च गरेर पनि उचित नतिजा नआएको भए पनि इरानी सरकार हुथीहरूको क्षमता वृद्धिमा संलग्न हुन पछि हट्नेछैन । छोटो अवधिमा, हुथीहरू एक बलियो समूहका रूपमा अगाडि आएका छन् । यदि उनीहरूले बलियो सैन्य दबाबको सामना गरेनन् भने उनीहरू लामो समय टिक्न सक्छन् । तर, ट्रम्प प्रशासनमा यो कुरा परिवर्तन हुन सक्छ ।
यमनमा सुरु गरेको सैन्य अभियानमा ट्रम्प प्रशासन कति टाढा जान इच्छुक छ भन्ने कुरा स्पष्ट छैन । हुथीले गर्ने आक्रमण मुख्यतः समुद्री जहाजमा केन्द्रित भए पनि समस्या मूल रूपमा जमिनसँग जोडिएको छ । यमनको पश्चिमी तटमाथि हुथी नियन्त्रण भएकाले पनि उसका आक्रमण निर्णायक र विध्वंशकारी भइरहेका छन् । अमेरिकाले यमनमा स्थल सेना परिचालन गर्ने सम्भावना नरहेकोमा अधिकांश पर्यवेक्षक सहमत छन् । यसैले गर्दा सैन्य माध्यमबाट मात्र अमेरिकाले कति सफलता हासिल गर्न सक्छ भन्ने कुरा पनि स्पष्ट छैन । यमनको ठुलो भाग र त्यहाँको पहाडी भेगसमेत कब्जामा राखेकाले हुथीहरूले हवाई आक्रमणको क्षतिलाई उल्लेख्य कम गर्न सक्छन् ।
अमेरिकी हमलाले के हासिल गर्न सक्छ ?
मार्चको सुरुमा अमेरिकी विदेश मन्त्रालयले हुथीहरूलाई पुनः विदेशी आतंकवादी संगठनको सूचीमा समावेश ग¥यो । साथै, हुथीका प्रवक्ता र प्रमुख वार्ताकार मोहम्मद अब्दुलसलामसहित प्रमुख वित्तीय अपरेटरमाथि आर्थिक प्रतिबन्ध लगायो । यमनी तेल संयन्त्रमाथि नियन्त्रण राख्ने अब्दुलसलाम अप्रिल २०२२ को अन्त्यमा ओमानमा सुरु भएको साउदी अधिकारीसँगको वार्तामा समेत संलग्न थिए ।
पछिल्लो हवाई आक्रमणमार्फत अमेरिकाले हुथीको कारण जोखिममा परेका आफ्ना क्षेत्रीय सहयोगीहरूको हित संरक्षण गर्न खोजेको छ । लाल सागरमा हुथीको गतिविधिको सबैभन्दा ठुलो असर इजिप्टमाथि परेको छ । हुथी आक्रमणबाट बच्न अन्तर्राष्ट्रिय जहाजले लाल सागरको रुट पन्छाउँदा गत वर्ष इजिप्ट सो रुटमा पर्ने स्वेज नहरमार्फत कमाउने सात अर्ब डलर राजस्व गुमायो ।
लाल सागर क्षेत्रमा संयुक्त अरब इमिरेट्स(युएई)को सैन्य, व्यावसायिक र आर्थिक हित छन् । साउदी अरब वर्षौँदेखि हुथीसँग युद्धमा छ । युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास अवरुद्ध भएकाले यसको कुनै अन्त्य देखिएको छैन । गाजामा पछिल्लो समय युद्धविराम लागू भएपछि हुथीहरू लाल सागरमा इजरायली निशाना वा अन्य व्यावसायिक जहाजमा आक्रमण नगर्ने आफ्नो वचनमा अडिग रहे । तर, युद्धविराम सम्झौता धराशायी हुँदै गर्दा हुथीहरू पुनः इजरायलविरुद्ध कठोर हुन थालेका छन् । विगतमा तिनले इजरायलविरुद्ध ड्रोन र ब्यालिस्टिक मिसाइल प्रयोग गर्थे । भलै ती प्रायः सबै इजरायलको प्रतिरक्षा प्रणालीबाट नष्ट हुन्थे ।
अमेरिकाले अहिले हुथीको सैन्य अभियानमा समूहका वरिष्ठ नेताहरूलाई निर्मूल पार्ने र यसको सैन्य पूर्वाधारलाई ध्वस्त पार्ने उद्देश्य राखेको छ । यसले इजरायलमाथि प्रतिशोधात्मक कारबाही गर्ने हुथी क्षमता कमजोर बन्ने वासिंगटनको आशा छ । दोस्रो, अमेरिका यमनमाथि हुथीहरूको पकडलाई पनि कमजोर बनाउन चाहन्छ । हुथी–नियन्त्रित यमन, अमेरिका र मध्यपूर्वका उसका मित्रको हितका लागि जोखिम हो । यमनमा हुथीको पकड बलियो भयो भने इरानले त्यहाँको प्रतिष्ठित तटीय क्षेत्र र रणनीतिक रूपमा महŒवपूर्ण ‘होदेइदा बन्दरगाह’माथि पहुँच पाउनेछ । यमन र साउदी अरबबिच लामो सिमाना जोडिएकाले यसले सम्भावित रूपमा यमनलाई क्षेत्रीय अस्थिरताको प्रक्षेपण केन्द्र बनाउने अमेरिकाको बुझाइ छ ।
लेखकद्वय ब्रिटिस प्रतिरक्षा थिंकट्यांक ‘रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युट’मा आबद्ध छन् । फरेन पोलिसीबाट