जावलाखेलमा १४ वटा पालिकाबिच अन्तरपालिका भलिबल प्रतियोगिता हुने

शुक्रबार, ७ चैत, २०८१
डिजिटल संस्करण

ललितपुर महानगरपालिकाको जावालखेलमा मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। विभिन्न पालिकाहरूबिच हुने उक्त प्रतियोगिता १० चैतदेखि १५ चैतसम्म हुनेछ।

भलिबल प्रतियोगिताको आाेजना महानगरपालिकाले गरेको हो भने संयोजन जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले गर्नेछ। केन्द्रका अध्यक्ष माधव खड्काले भलिबल खेलको विकास गर्न र पालिकास्तरमा खेलाडी उत्पादन गर्न यस्तो प्रतियोगिता गर्न लागिएको जानकारी दिए।

खेलको सबैखाले व्यवस्थापनमा २० लाख रुपैयाँ बजेट विनियोजन भएको छ। खेल महिला र पुरुषतर्फ हुनेछ। दुवैतर्फ प्रथम हुनेलाई दुई–दुई लाख, दोस्रो हुनेलाई एक–एक लाख र तेस्रो हुनेलाई ५०–५० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रगियोगितामा ललितपुर र काठमाडौं महानगरपालिका, बागमती गाउँपालिका, महांकाल गाउँपालिका, रामेछाप नगरपालिका, खाँडादेवी गाउँपालिका, मेलुङ गाउँपालिका, मन्थली नगरपालिका, पनौती नगरपालिका, गल्छी नगरपालिका, पञ्चकन्या गाउँपालिकासहित १४ वटा पालिकाका खेलाडीहरू सहभागी हुनेछन्। 

खेलमा कुनै पनि राष्ट्रिय टिममा आबद्ध खेलाडीलाई अघि सार्न भने पाइनेछैन। ललितपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जनले ०५२ सालदेखि यसप्रकारको प्रतियोगिता आयोजना गरिँदै आएको बताउँदै यस प्रतियोगिताले भलिबलको विकासमा टेवा पुग्ने बताए। उक्त खेल जावलाखेलमा रहेको ग्राउन्डमा हुनेछ।

See More On

सुझावित समाचार