मकवानपुरबाट एसइईमा सात हजार ४५६ जना परीक्षार्थी सहभागी

बिहिबार, ७ चैत, २०८१
डिजिटल संस्करण

यस वर्षको एसइईमा मकवानपुरबाट सात हजारभन्दा बढी विद्यार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख सुदीप गिरीका अनुसार जिल्लाका सामुदायिक र संस्थागत गरी १३९ वटा विद्यालयका सात हजार ४५६ जना विद्यार्थीले एसइईमा सहभागिता जनाएका छन् । उनका अनुसार ग्रेडवृद्धिका लागि साधारणतर्फ एक हजार ४९५ र प्राविधिक धारका ९६ जनाले एसइई परीक्षा दिएका छन् । 

६ जना कैदीबन्दीले दिए एसइई परीक्षा

यस्तै, भीमफेदी गाउँपालिकामा रहेको क्षेत्रीय कारागार भीमफेदीबाट ६ जना कैदीबन्दीले पनि यस वर्षको एसइई परीक्षा दिएका छन् । शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख गिरीले एसइई परीक्षामा भीमफेदी कारागारमा बन्दी बनेर विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका ६ जना कैदीबन्दीले एसइई परीक्षा दिएको बताए। यस्तै, हेटौँडास्थित बालसुधारगृहमा रहेका दुईजना परीक्षार्थीले पनि एसइईकाे परीक्षा दिएका छन् ।

२८ वटा परीक्षा केन्द्र

जिल्लामा यस वर्ष गत वर्षभन्दा दुईवटा परीक्षा केन्द्र थप गरी २८ वटा परीक्षा केन्द्र तोकिएको छ। गत वर्ष मकवानपुरमा २६ वटा मात्रै परीक्षा केन्द्र रहेका थिए । जिल्लाको कैलाश गाउँपालिकामा पहिलोपटक नामटारस्थित कालिका माविमा परीक्षा केन्द्र तोकिएको छ ।  हेटौँडाको श्रमिक माविमा परीक्षा केन्द्र थप गरिएको प्रमुख गिरीले जानकारी दिए ।

एसइई परीक्षा सञ्चालनका लागि जिल्लामा २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ निरीक्षक, ७६ परीक्षा सहायक, १५० कार्यालय सहयोगी र ४२० जना सुरक्षाकर्मी खटाइएको छ ।

See More On

सुझावित समाचार