ठुला क्याम्पसमा भएन निर्वाचन : ३८ आंगिक र तीन सय सम्बन्धनप्राप्त क्याम्पसमा मात्रै मतदान

बुधबार, ५ चैत, २०८१
डिजिटल संस्करण

त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन सिमित क्याम्पसमा मात्रै भएको छ । विद्यार्थीको अवरोधका कारण ठुला तथा आंगिक क्याम्पसहरूमा चुुनाव हुन सकेन । मंगलबार ३८ वटा आंगिक र तीन सय सम्बन्धनप्राप्त क्याम्पसमा मात्रै निर्वाचन भएको छ । त्रिविले सम्बन्धनप्राप्त करिब साढे तीन सय र ६२ आंगिक क्याम्पसमा एकै चरणमा निर्वाचन गर्ने तयारी गरेको थियो । 

मंगलबार सम्पन्न निर्वाचनको परिणाम आउने क्रम जारी छ । बेलुका ११:३० बजेसम्म परिणाम आएका दुई सय २८ मध्ये नेविसंघले ९१ क्याम्पस, अनेरास्ववियुले ७५, अखिल क्रान्तिकारीले ६२ क्याम्पसमा विजयी हासिल गरेको छ । यस्तै, एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले चारवटा क्याम्पसमा जित हात पारेको छ । 

उपत्यकाभित्रको थापाथली इन्जिनियरिङ क्याम्पस सभापतिमा नेविसंघले जितेको छ । विद्युतीय मतदान भएको यस क्याम्पसमा नेविसंघका प्रह्लाद खड्काले जितेका हुन् । सचिवमा भने अखिल क्रान्तिकारीले जितेको छ । यस्तै, ललितकला क्याम्पस भोटाहिटीमा अनेरास्ववियुका आशिष पौडेल विजयी भएका छन् । 

मंगलबार सम्पन्न निर्वाचनमा दलका केन्द्रीयस्तरका नेताहरू निर्वाचनस्थलमा पुगेका थिए । मतदान प्रक्रियालाई सहज बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले क्याम्पसहरूमा करिब ३० हजार प्रहरी परिचालन गरेका थिए । 

मंगलबारका लागि निर्वाचन मिति तोकिएका ६२ आंगिकमध्ये २४ वटा क्याम्पसमा चुनाव हुन सकेन । जसमध्ये त्रिवि केन्द्रीय क्याम्पस, आरआर, शंकरदेव, विश्वभाषा, त्रिचन्द्रसहित छन् । निर्वाचन हुन नसकेका क्याम्पसमा पुनः मिति तोकिने त्रिविले जनाएको छ । मंगलबार त्रिविले विज्ञप्ति जारी गर्दै बाँकी क्याम्पसमा सहमति गर्दै चुनाव गराउने जानकारी गराएको छ । यस्तै, मंगलबार सम्पन्न निर्वाचन शान्तिपूर्ण रहेको पनि त्रिविले दाबी गरेको छ । 

पृथ्वीनारायणमा आज निर्वाचन
कास्कीस्थित पृथ्वीनारायण क्याम्पसमा बुधबार निर्वाचन हुँदै छ । त्रिवि केन्द्रीय क्याम्पस ८ चैतमा, सिद्धनाथ बहुमुखी क्याम्पस महेन्द्रनगरमा ९ चैतमा निर्वाचन हुँदै छ । यस्तै, ललितपुरको महालक्ष्मी क्याम्पसमा पनि ८ चैतमा निर्वाचन हुँदै छ । यहाँका आठ क्याम्पसमध्ये हिमालयन इन्जिनियरिङ र कान्तिपुर इन्जिनियरिङमा निर्वाचन अनिश्चित बनेको छ ।

यस्तै काठमाडौं पद्मकन्या क्याम्पसमा बिहीबार निर्वाचन हुने भएको छ । अन्य क्याम्पसमा पनि क्रमैसँग निर्वाचन गरिने त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका प्रमुख पशुपति अधिकारीले जानकारी दिए । ‘ठुला क्याम्पसमा चुनाव अन्योल बनेको छ, कतिपयको मिति पनि तोकिएको छ, विद्यार्थी संगठनकै अवरोधका कारण चुनाव रोकिएको हो,’ उनले भने, ‘रोकिएका क्याम्पसहरूमा चुनाव गराउने प्रयत्न गर्छौँ ।’

पाटन संयुक्त क्याम्पसमा झडप, तीनजना घाइते 
ललितपुरको पाटन संयुक्त क्याम्पसमा विद्यार्थी संगठनहरूबिच झडप भएको छ । मतदान सुरु भएर ११९ मत खसेपछि विवाद सुरु भएको थियो । मतदाताको नाम र फोटो आपसमा मेल नखाएपछि विवाद भएको थियो ।

नेविसंघ, क्रान्तिकारी र अनेरोस्ववियुका विद्यार्थी नेताबिच झडप हुँदा तीनजना घाइते भएका हुन् । घाइते तीनजनाको अवस्था सामान्य रहेको र उनीहरूको पाटन अस्पतालमा उपचार भइरहेको छ । झडपपछि चुनाव रोकिएको छ । तर, नेविसंघले जति मत खसेको छ त्यही मतका आधारमा विजयी घोषणा गर्न माग गरेको छ ।  घाइते तीनैजना अनेरास्ववियुका विद्यार्थी रहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पुल्चोकमा स्वतन्त्रको जित
पुल्चोकस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । उनी स्वतन्त्र उम्मेदवार हुन् । उनले एक हजार एक सय दुई मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी अखिल क्रान्तिकारीका रसिक लम्सालले ७१० मत प्राप्त गरेका छन् ।

निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको प्रहरीको दाबी 
मंगलबार निर्वाचन सम्पन्न भएका क्याम्पसहरूमा शान्तिपूर्ण मतदान भएको प्रहरीको दाबी छ । केही क्याम्पसमा छिटपुट विवाद र झडप भए पनि समग्रमा शान्तिपूर्ण रहेको प्रहरीको भनाइ छ । 

विवादपछि पाटन संयुक्त क्याम्पसमा निर्वाचन स्थगित भए पनि नेपाल कमर्स क्याम्पस, बानेश्वर बहुमुखी क्याम्पसलगायतमा विवाद मिलाएर निर्वाचन गरिएको थियो । काठमाडौंका क्याम्पसमा भने विवाद नभएको र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । ‘चुनाव शान्तिपूर्ण नै भयो, त्यस्तो विवाद र लफडा कतै भएन,’ उनले भने, ‘अघिल्लो दिन नै निर्वाचन नहुने भनिएका क्याम्पसबाहेक अन्यमा भयो ।’ 

कहाँ–कहाँ रोकियो चुनाव ?
त्रिवि केन्द्रीय क्याम्पस, आरआर क्याम्पस, त्रिचन्द्र क्याम्पस, पद्मकन्या क्याम्पस, अस्कल क्याम्पस, शंकरदेव क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, पब्लिक युथ क्याम्पस, पद्मकन्या क्याम्पस, विश्वभाषा क्याम्पस, नेपाल ल क्याम्पस, बुटवल बहुमुखी क्याम्पस, सुर्खेत बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, रामस्वरूप रामसागर बहुमुखी क्याम्पस, पक्लिहवा बहुमुखी क्याम्पस, तेह्रथुम बहुमुखी क्याम्पस, कृषि क्याम्पस खैरहनी, पाटन संयुक्त क्याम्पस, हिमालयन इन्जिनियरिङ क्याम्पस ललितपुर, कान्तिपुर इन्जिनियरिङ क्याम्पस ललितपुर, महालक्ष्मी बहुमुखी क्याम्पस लुभुलगायत ।

पशुपति अधिकारी, प्रमुख, त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय 
ठुला क्याम्पसमा चुनाव अन्योल बनेको छ, कतिपयको मिति पनि तोकिएको छ, विद्यार्थी संगठनकै अवरोधका कारण चुनाव रोकिएको हो । रोकिएका क्याम्पसहरूमा चुनाव गराउने प्रयत्न गर्छौँ ।

सुझावित समाचार