गाजाको मौन महामारी र अन्तर्राष्ट्रिय समुदायको बेवास्ता

आइतबार, ३ चैत, २०८१
डिजिटल संस्करण
  • गाजामा अहिले विश्वमै धेरै अंगभंग भएका बालबालिका छन् । तर, त्यहाँको ध्वस्तप्रायः स्वास्थ्य प्रणाली उनीहरूको उपचार तथा हेरचाह गर्न असमर्थ छ।

गाजामा युद्धविराम सुरु भएको दुई महिना भइसकेको छ । तर, युद्धविरामबिच पनि इजरायली सेनाले प्यालेस्टिनीहरूलाई मारिरहेका छन् । तथापि, अहिलेका लागि निरन्तरको बमबारी भने रोकिएको छ । गाजापट्टीमा प्रवेश अनुमति दिइएका धेरै प्रकारका अत्यावश्यक सहायता फेरि दुई हप्तादेखि रोकिएका छन् । त्यसअघिको डेढ महिनामा प्रवेश गरेका सामग्रीले गाजाको नामेटजस्तै बनेको स्वास्थ्य सेवा प्रणालीलाई पुनर्जीवित गर्न सक्दैन । यति धेरै अस्पताल र क्लिनिक नष्ट गरिएका छन् कि मानवीय सहायताकर्मी संस्थाहरूले घाइतेलाई आधारभूत हेरचाह प्रदान गर्नसमेत पाल टाँगेर सेवा दिनुपर्ने अवस्था छ । यसअघि पठाइएका चिकित्सा आपूर्तिहरू पनि निख्रिँदै गएका छन् । 

यो निरन्तर पीडाको बीचमा गाजाको स्वास्थ्य सेवा प्रणाली उठ्ने तयारी गर्दै थियो । तर, अहिले तिनले पाउने सेवा रोकिएपछि त्यसमा पनि विराम लागेको छ । स्वास्थ्य प्रणाली नागरिक जनसंख्यालाई दुःख दिने स्वास्थ्य संकटहरूलाई सम्बोधन गर्न सक्ने स्थितिमा छैन । अहिले गाजावासीलाई सताइरहेकोमध्ये सबैभन्दा जटिल समस्या अंगभंगको उपचारमा देखिएको छ । इजरायलको १५ महिना लामो अन्धाधुन्ध बमबारीले गर्दा गाजामा अंगभंग भएकाको संख्या डरलाग्दो छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२३ अक्टोबर ७ देखि सेप्टेम्बर २०२४ सम्म गाजामा गम्भीर प्रकारको शारीरिक चोट भोगेका मानिसको संख्या २२ हजार ५०० थियो । तिनमा गम्भीर चोटपटक, अंगभंग भएका, मेरुदण्डको आघात, मस्तिष्कमा चोटपटक र शरीरका धेरै भागमा जलन भोगेका बिरामी थिए । नरसंहारकारी युद्ध चरमचुलीमा पुग्दा सहायता एजेन्सीहरू र चिकित्सा संस्थाहरूले गाजामा हरेक दिन १० भन्दा बढी बालबालिकाले एक वा दुई अंग गुमाइरहेको रिपोर्ट सार्वजनिक गरिरहेका थिए । कैयौँलाई एनेस्थेसियाविना नै शल्यक्रिया गराउनुपर्ने बाध्यता थियो । यस भेगको स्वास्थ्य प्रणाली बमबारीको निसानामा परेर पूर्ण रूपमा ध्वस्त नभएको भए धेरैको हातखुट्टा बचाउन सकिने बताइएको छ । 

डिसेम्बरमा संयुक्त राष्ट्र संघले गाजामा ‘विश्वमै उच्च प्रतिव्यक्ति अंगभंग भएका बालबालिकाको संख्या’ रहेको बताएको थियो । जुलाई २०२४ मा, अल–अक्सा सहिद अस्पतालको स्थलगत भ्रमणका क्रममा मैले यसलाई प्रत्यक्ष रूपमा देखेको थिएँ । गाजामा सञ्चालनमा रहेको अन्तिम अस्पतालमध्ये एक सो अस्पतालमा बमबारीमा परेर घाइते भएका केयौँ मानिस ल्याइपुर्याइएको थियो । स्वास्थ्यकर्मी घाइतेहरूलाई मद्दत गर्न संघर्ष गरिरहेका थिए । 

त्यहाँ स्वास्थ्यकर्मीको चरम अभाव देखेर म आफैं पनि मद्दतका लागि अघि सरेँ । मैले हेरेको पहिलो बिरामी चार वर्षीया टाला नामकी नानी थिइन् । बमका कारण आफ्नो एउटा खुट्टा गुमाएकी टाला रोइरहेकी थिइन् । आफैँ गम्भीर घाइते भएकीले उनकी आमा उनको तीव्र रोदनलाई शान्त पार्न आउन सकिनन् । मैले ती सानी केटीको मलमपट्टी फेर्न र दुखाइ निवारक औषधि दिनबाहेक केही गर्न सकिनँ । त्यसपछि मैले अब्दुल्लाह नामको एक युवकलाई देखेँ, जो गम्भीर घाइते भएकाले बेहोस अवस्थामा थिए । अस्पताल ल्याइएपछि उनको शरीरमा अल्झिरहेको बाँकी खुट्टा काटिएको थियो । उनका बुबाले मलाई अब्दुल्लाहकी हजुरआमा र एकजना बहिनीको मृत्यु भएको बताए ।

म फेरि डिसेम्बर २०२४ मा सो अस्पताल गएको थिएँ । त्यतिवेला मेरो भेट तीन वर्षीया हनान र डेढ वर्षकी मिस्कसँग भयो । हनानको दुवै खुट्टा काटिएको थियो भने बहिनी मिस्कको एउटा खुट्टा बाँकी थियो । इजरायली बमबारीमा तिनीहरूकी आमा मारिएकी थिइन् । तिनीहरूकी काकीले मलाई उनीहरूको हेरचाह गर्न कठिनाइ भोगिरहेको बताइन् । बम विस्फोटले एउटा खुट्टा गुमाएकी मिस्कले भर्खरै उठ्न सिकेकी थिइन् । हनान भने उनका उमेरका अन्य बालबालिकाको खुट्टामा ध्यान दिने उमेरकी भएकीले वेलावेला आफ्नो खुट्टा किन छैनन् भनेर सोध्थिन् ।

यो त इजरायली बमबाट खुसी खोसिएका हजारौँ बालबालिकाको भोगाइको सानो अंश मात्र हो । तिनीहरू सधैँका लागि दौडन र आफ्ना साथीहरूसँग काँधमा काँध मिलाएर खेल्न असमर्थ बनाइएका छन् । एकातर्फ शरीरको अंग गुमेको पीडा, अर्कोतर्फ त्यसको उपचार तथा आधारभूत हेरचाहको अभाव, उनीहरू दोहोरो पीडा भोग्न बाध्य छन् । 

उसो त यो नरसंहारकारी युद्धअघि नै गाजाले ठुलो संख्याको अंगभंगका बिरामीको उपचार गरिरहेको थियो । यसअघिका इजरायली आक्रमण र शान्तिपूर्ण प्रदर्शनमाथि गरिएका आक्रमणले अघिल्लो चरणका अंगभंगका बिरामी निर्माण गरेको थियो । तर, त्यो समय पीडितको उपचार र हेरचाह गर्ने केही संस्थाहरू राम्ररी काम गरिरहेका थिए । ‘हमाद हस्पिटल फर रिह्याबिलिटेसन एन्ड प्रोस्थेटिक्स’ अंगभंग भएका बिरामीलाई ‘प्रोस्थेटिक्स’ प्रदान गर्न सक्षम थियो । विभिन्न परियोजना मानसिक आघात परेकाहरूलाई मनोसामाजिक सहयोग र उपचारमा सक्रिय थिए । अहिले यी सबै हराइसकेका छन् । नरसंहारकारी युद्धको पहिलो केही हप्ताभित्र हमाद अस्पताल ध्वस्त भएको थियो ।

भग्नावशेष अस्पताल र अस्थायी क्लिनिकहरू दीर्घरोगीलाई हेरचाह प्रदान गर्नसमेत सक्षम छैनन् भने अपांगता भएका व्यक्तिहरूको हेरचाह गर्ने त झनै टाढाको कुरा भयो । रफाह सीमानाका अहिले पुनः बन्द गरिएको छ । घाइतेहरू अब उपचारका लागि सीमापारि यात्रा गर्न नसक्ने भएका छन् । कृत्रिम अंग, बैसाखी र ह्विलचेयरजस्ता सहायक उपकरणको चरम अभाव देखिएको छ । तर, त्यस्ता सामग्रीलाई समेत गाजा पठाउन रोकिएको छ । गाजाको स्वास्थ्य क्षेत्रले भोगेको विनाशको पुनर्निर्माण गर्न वर्षौं लाग्न सक्छ । इजरायलले सामूहिक दण्डको रूपमा सहायता रोक्ने कार्य जारी राख्यो भने समय झन् लम्बिनेछ । र, यस अवधिमा अंगभंग भएका व्यक्तिहरू अनिवार्य रूपमा आवश्यक हेरचाह र पुनस्र्थापनाको अभावबाट मात्र नभई निको नहुने गहिरो मनोवैज्ञानिक आघातबाट पनि पीडित हुनेछन् । यो गाजाको लुकेको महामारी हुनेछ ।

– अल जजिराबाट 

सुझावित समाचार