प्रमुख प्रतिपक्षी दल माओवादीसहित चार दल सम्मिलित समाजवादी मोर्चाले ‘प्रतिगामी र पुनरुत्थानवादी तत्वको सशक्त प्रतिवाद, गणतन्त्रको रक्षा र नेपाली विशेषताको समाजवादी यात्रा’ वर्तमान राष्ट्रिय राजनीतिको कार्यभार भएको निष्कर्ष निकालेको छ । जनतामा असन्तुष्टि बढ्दै जानुमा सरकारको कुशासन जिम्मेवार रहेको ठहर गर्दै मोर्चाले प्रतिगमन र प्रतिक्रियावादी षड्यन्त्र विफल पार्न १५ चैतमा विरोध प्रदर्शनसहित जनसभा गर्ने तय गरेको छ ।
मोर्चाले जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश बढ्दै जानुमा सरकारको कुशासन र अस्तव्यस्तता नै जिम्मेवार रहेको दाबी गरेको छ । सरकारका यस्ता कामले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा गम्भीर चुनौती देखा पर्दै गएको मोर्चाको दाबी छ ।
‘सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको छ । यसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा गम्भीर चुनौती देखा पर्दै छ,’ मोर्चाले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी भनेको छ । मोर्चामा माओवादी, एकीकृत समाजवादी, नेसपा र नेकपा गरी चार दल आबद्ध छन् ।
यस्तै, मोर्चाले सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धमा केन्द्रित रहेको आरोप लगाएको छ । ‘राज्य सञ्चालनको स्वेच्छाचारिताका कारण देशले अप्ठेरो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिसन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त छ । नेपाली जनताको जनजीविका कहालीलाग्दो अवस्थामा छ,’ मोर्चाले भनेको छ, ‘सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धमा केन्द्रित छ । लोकतान्त्रिक मूल्य–मान्यताको उपहार गर्दै छ । अध्यादेशमार्फत सरकार चलाउने, सदन छल्ने र संसद्मा दर्ता भएका महत्वपूर्ण विधेयक नियन्त्रण गरी राख्नेमा उद्यत छ ।’
मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मनोमानी, देश एवं जनताको हितविपरीतका गलत क्रियाकलापले राजतन्त्र पुनस्र्थापनाको पक्षघरलाई सहयोग पुगेको मोर्चाको भनाइ छ । ‘जनताको पैदा भएको असन्तुष्टिलाई धमिलो पानी बनाई गणतन्त्रको विरुद्धमा राजतन्त्र पुनस्र्थापनाको षड्यन्त्रमा प्रतिगामी र पुनरुत्थानवादी तत्वहरू लागिपरेको’ मोर्चाको ठहर छ । मोर्चाले ‘त्यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको कार्यभार भएको’ निष्कर्ष निकालेको छ ।
देशभक्त तथा गणतन्त्रवादी शक्तिहरू एकजुट भई प्रतिगमन र प्रतिक्रियावादीको षड्यन्त्रलाई विफल पार्न मोर्चाले आगामी १५ चैतको विरोध प्रदर्शनसहितको जनसभामा सहभागी हुन अपिल गरेको छ । प्रतिगामी र पुनरुत्थानवादी षड्यन्त्रका विरुद्ध एकता, सहकार्य र संयुक्त विरोध आन्दोलनको नेतृत्व गर्नु अहिलेको वस्तुस्थितिको अहं जिम्मेवारी बन्न गएको मोर्चाको भनाइ छ ।
पत्रकार सम्मेलनमा मोर्चाका शीर्ष नेताले प्रतिगामी षड्यन्त्र सफल हुन नसक्ने दाबी गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने संकल्प मोर्चाले गरेको बताए । ‘अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानले समाजवादउन्मुख राज्य भनेर परिकल्पना गरेको छ । हामी त्यसलाई साकार पार्नका लागि वैज्ञानिक समाजवादसम्म जान चाहन्छौँ,’ उनले भने, ‘जनताको जीवनमा परिवर्तन ल्याउने एउटा नयाँ संकल्प गरेका छौँ ।’
गणतन्त्र पक्षधरले आफ्नो आत्मसमीक्षा जनतामा राख्नुपर्ने र अगाडि कसरी जान चाहन्छौँ भन्ने पनि स्पष्ट भन्नुपर्ने आवश्यकता उनले औँल्याए । व्यवस्थाको रक्षा गर्दै थप उपलब्धि प्राप्त गर्न गणतन्त्र पक्षधरहरूलाई एक ठाउँमा ल्याउने प्रयास भइरहेको उनले बताए ।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुँजीवादी व्यवस्थालाई बदल्नुपर्ने बताए । ‘अहिले व्यवस्था बदल्ने कुरा आएको छ । अवश्य नै पुँजीवादी व्यवस्थालाई बदल्नुपर्छ, तर सामन्ती व्यवस्थामा जाने होइन । समाजवादी गणतन्त्रमा जानुपर्छ,’ नेपालले भने ।
नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः ००६ को जस्तै एकीकृत गर्ने अभियानमा लागेको बताएका छन् । ‘सिंगो नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ अवधारणामा रूपान्तरणसहित ००६ सालमै लान सकिन्छ त भन्ने बहस चलिराखेको छ । हामी त्यस हिसाबले अगाडि बढेका छौँ,’ विप्लवले भने ।