फेरि चर्कियो पर्यटनमन्त्री र कांग्रेस सांसद बजगाईंबिचको विवाद

शुक्रबार, १ चैत, २०८१
डिजिटल संस्करण

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डे र कांग्रेसका सांसद राजेन्द्र बजगाईंबिच फेरि विवाद चर्किएको छ। मन्त्री पाण्डेले सामाजिक सञ्जालमा आफूविरुद्ध अभियान चलाएको भन्दै बजगाईंले पार्टीको केन्द्रीय अनुशासन समितिमा उजुरी दिएका छन्। 

यसअघि सांसद बजगाईंले मन्त्री पाण्डेमाथि कमिसनको आरोप लगाएका थिए। क्यासिनोलाई लाइसेन्स दिँदा कमिसन खाएको प्रमाण आफूसँग रहेको भनेर उनले सार्वजनिक रूपमै आरोप लगाएका थिए। त्यसवेला पाण्डेले पार्टीमा उजुरी गरेका थिए। पछि बजगाईंले माफी मागेका थिए। 

अहिले फेरि उनीहरूबिच विवाद बढेको हो। बजगाईंको उजुरीमा फेरि पनि भ्रष्टाचारको आरोप लगाइएको छ। उजुरीमा भनिएको छ, ‘कानुनी प्रक्रिया उल्लंघन गर्दै जथाभावी क्यासिनो इजाजतपत्र वितरण गरेका छन् र अदालती फैसलालाई चुनौती दिने प्रयास गरेका छन् । जसले अदालतको अवहेलनासँगै कानुनी शासनमाथि प्रहार गर्दछ । मिडिया प्रचारबाजीमा मात्र सीमित नरही पाण्डे आन्तरिक रूपमा पनि सक्रिय छन् । उनले पार्टी नेतृत्वलाई प्रभावमा पार्दै अनुशासन समिति प्रयोग गरेर मलाई लक्षित कारबाही गराउने प्रयास गरिरहेका छन् । मलाई दबाउने, आलोचनात्मक आवाजलाई थुन्ने र आफ्नै नियन्त्रण मजबुत बनाउने उनको यो रणनीति केवल एउटा व्यक्तिगत बदनाम गर्ने अभियान मात्र होइन, यो सत्ताको दुरुपयोग गर्दै भ्रष्टाचारको विरोध गर्नेहरूलाई दबाउने संगठित षड्यन्त्र हो ।’

सांसद बजगाईं पनि पर्यटन व्यवसायी हुन्। एउटै पार्टीका भए पनि दुई नेताबिच राम्रो सम्बन्ध छैन। 
 

सुझावित समाचार