होलीका लागि काठमाडौंको असन–भोटाहिटी क्षेत्रमा रंगका प्याकेट, पिचकारी र टिसर्ट किन्दै सर्वसाधारण । फागुन शुक्ल पक्षको पूर्णिमा तिथिका दिन होलिका दहन गरेसँगै होली मनाउने गरिन्छ । तर, तराई–मधेश क्षेत्रमा भने पूर्णिमाको दिन होलिका दहन गरे पनि भोलिपल्ट होली मनाउने प्रचलन छ । सरकारले बिहीबार काठमाडौं उपत्यकासहित पहाडी क्षेत्र र शुक्रबार तराईमा होली पर्वको सार्वजनिक बिदा दिएको छ ।
दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी, तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यतिखेरदेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको खुसियालीमा फागु खेल्ने परम्परा चलेको मानिन्छ ।