‘कमजोरी सच्याउँदै अघि बढ्नुपर्छ, केही व्यक्तिको स्वार्थका लागि देश पछाडि फर्किँदैन’

मंगलबार, २७ फागुन, २०८१
डिजिटल संस्करण

प्रधानमन्त्री केपी शर्मा ओलीले देश अब कुनै पनि हालतमा पछाडि नफर्कने बताएका छन्।

मंगलबार कोशी प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधानको रक्षा गर्नु सबैको दायित्व रहेको औँल्याए।

सबैको समान अधिकार सुनिश्चित गर्ने प्रणाली लोकतन्त्र मात्रै रहेको स्पष्ट पार्दै सामाजिक न्याय र सदभाव कायम गर्दै राष्ट्रिय एकताको बाटोमा अगाडि बढे मात्र सुशासन कायम हुन सक्ने बताए। गणतन्त्रलाई समृद्ध बनाउन आवश्यकताअनुसार संविधान संशोधनको अपरिहार्यता पनि उनले औँल्याए।

प्रधानमन्त्रीले लोकतान्त्रिक प्रणाली प्रतिस्पर्धात्मक प्रणाली भएकाले जोकोही आफ्नो क्षमताले अघि बढ्न पाउने भए पनि लोकतन्त्रको विकल्प अर्को व्यवस्था हुन नसक्नेतर्फ सचेत गराए।

केही व्यक्तिको स्वार्थका लागि देश पछाडि फर्कन नसक्ने प्रस्ट्याउँदै उनले भने, ‘हामी कानुन र न्यायसम्मत बाटो हिँडेर अगाडि बढनेछौँ।’ लोकतन्त्र नै जनताको सर्वोच्चता भएको प्रणाली भएकाले कुनै वादतर्फ फर्कन नसकिने उनको भनाइ छ। ‘जनताको सार्वभौम सम्पन्नताभन्दा अर्को शक्ति हुनै सक्दैन। यसैले  हामी लोकतन्त्रका लागि संविधानको रक्षा गर्न कतै पनि चुक्ने छैनौँ,’ उनले भने।

प्रधानमन्त्री ओलीले राणा र राजाहरूको पालामा भएका निरंकुश कानुनहरू हटाएर नेपाली जनता आफैँले संविधान लेखेर कानुनी राज्य निर्माण गरिसकेकाले लोकतन्त्रको रक्षा प्रमुख जिम्मेवारी रहेको औँल्याए। उनले भने, ‘कमजोरीहरू सच्याउँदै न्यायोचित कानुनहरू बनाउँदै अगाडि बढनुपर्छ, पछाडि फर्केर होइन।’

यतिखेर देशलाई शान्ति र स्थिरता चाहिएको भन्दै उनले विविधतालाई एकतामा कायम राख्नुपर्नेमा जोड दिए। समयमै प्रदेशवासीका समस्याहरू सुनेर समाधान गर्न पनि प्रधानमन्त्रीले प्रदेश सरकारलाई आग्रह गरे। ‘ठुलो आवाज बनाएपछि मात्र होइन, सानो हुँदा नै जनताका समस्या सुन्नका लागि प्रदेश सरकार चाहिएको हो। सरकारका लागि सरकार बनाउन होइन।’

प्रधानमन्त्रीको सम्बोधनबारे आफूहरूसँग छलफल नै नगरेको भन्दै बैठकमा सहभागी नहुने चेतावनी दिएका विपक्षी दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादी पनि मुख्यमन्त्रीको आग्रहपछि आजको बैठकमा सहभागी भएका थिए। विपक्षीहरूको चेतावनीपछि मंगलबार बिहान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपक्षी दलका नेताहरूसँग भेटेर प्रधानमन्त्रीले सम्बोधन गर्ने बैठकमा सहभागी हुन आग्रह गरेका थिए।

सुझावित समाचार