नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा आफू हुँदा ठिक र आफू नहुँदा बर्बाद भयो भन्नै गरी प्रस्तुत नहुन आग्रह गरेका छन्।
मंगलबार प्रतिनिधिसभाको विशेष समयमा थापाले संसद्का सबैजसो दलले यस्तो गर्ने गरेका भन्दै समस्यालाई बढाइचढाई प्रस्तुत नगर्न आग्रह गरे।
‘प्रतिपक्ष दलले प्रश्न गर्ने नै हो । आफ्नो वेलाका कुरालाई डिफेन्ड गर्ने पनि हो, गर्नैपर्छ,’ उनले भने, ‘तर, हामीले समस्यालाई यसरी बढाइचढाई प्रस्तुत गर्छौँ कि यो समस्या होइन, यो क्राइसिस हो, गयो, गयो, डुब्यो, सकियो, भत्कियो । म हुँदा ठिक थियो म नहुँदा बर्बाद भयो।’
सबै सरकार र निकायले काम गरेका कारणले नै कुनै पनि परियोजना सम्पन्न हुने उल्लेख गर्दै महामन्त्री थापाले भने, ‘तर, अहिले हामी सरकारमा भएका कारण (सिद्धबाबा) सुरुङको ब्रेक थ्रु हाम्रो कारणले भएको भन्न थाल्यौँ भने माननीयज्यूहरूको हुलाकी राजमार्गमा अभियान चलिरहेको छ। त्यहाँ कुनै पुल १० वर्षदेखि बनेको छैन, कुनै बाटो १२ वर्षदेखि बनेको छैन । तर, सुरुङ तिम्रो कारणले बनेको हो भने हुलाकी राजमार्ग पनि तिम्रो कारणले नबनेको भन्ने कुरा आउँछ।’