बिमा रकमका लागि आफ्नै पसलमा आगजनी गर्ने पक्राउ

पुसमा पसल सुरु, माघमा बिमा, फागुनमा आगजनी

सोमबार, २६ फागुन, २०८१
डिजिटल संस्करण

बिमा रकमको लोभमा आफ्नै पसलमा आगजनी गर्ने एक व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–८ न्युरोडस्थित शर्मा आईटी हबका सञ्चालक पर्सा जगरनाथपुर गाउँपालिका–३ घर भई हाल पोखरा २७ तालचोक बस्ने रमेश शर्मा लोहार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिएका छन् । लोहारले पुसमा पसल सुरु गरेका थिए भने माघमा शिखर इन्स्योरेन्स कम्पनी लि.मा एक करोड बराबरको बिमा गरेका थिए । 

ओलियाका अनुसार पोखरा–८ न्युरोडस्थित ब्लक र टिनको टहरामा लोहारले मासिक ३५ हजार भाडा तिर्ने गरी गत पुसदेखि शर्मा आईटी हब नामको पसल सञ्चालन गर्दै आएका थिए । पसलमा १६ फागुन साँझ ७ः०५ तिर आगलागी भएको भन्ने सूचना पाएसँगै प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय पोखरा–६ बैदामबाट प्रहरी टोली खटिएर दमकलको सहयोगमा ४० मिनेटमा आगो नियन्त्रणमा लिएको थियो । आगोका कारण उनको पसल पूर्ण रूपमा जलेको थियो ।

रमेश शर्मा लोहार

मोबाइल चार्जमा राखी वासरुम गएको र फर्कदा केही पड्किएको आवाजसँगै आगलागी भएको र आगलागीबा ९४ लाखको क्षति भएको दावीसहित सञ्चालक लोहारले १७ फागुनमा बैदाम चौकीमा निवेदन दिएका थिए । उनको निवेदनपछि प्रहरी अनुसन्धानका क्रममा बिमाको लागि आफैँले पसलमा आगो लगाएको खुलेपछि प्रहरीले पक्राउ गरेको हो ।

घट्नाको तीन दिनपछि अर्थात १९ फागुनमा मोबाइल चार्जमा राखी वासरुम गई फर्कदा केही पड्किएको आबाज आई आगोलागी भएको भन्ने व्यहोरा उल्लेख गर्दै लोहारले बिमा रकम दावीको लागि शिखर ईन्स्योरेन्समा निवेदन दिएका थिए । ओलियाका अनुसार आगोलागी हुनुभन्दा दुईदिन अगाडीदेखि पसल बन्द थियो भने पसलका दुईजना कामदारलाई समेत घटनाको दिन बिदा दिइएको थियो ।

कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शार्माका अनुसार घटनास्थलको मनुयल्ली र डिजिटल्ली अध्ययन गरी आगोलागीका सबुत प्रमाण संकलन गरिएको थियो । बिमा रकम दावी गरी रकम लिने दुषित मनसायको साथ लोहारले पसलमा आगोलागी गरेको आधार र प्रमाण देखिएपछि उनलाई पक्राउ गरी आपराधिक प्रवेश तथा आपराधिक उपद्रवसम्बन्धी कसुरमा अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको शर्माले जानकारी दिए । उनले पाँच वर्षअघिदेखि पोखरा–२७ स्थित तालचोकमा आईटी हब सञ्चालन गर्दै आएका थिए । प्रहरीले सो पसलको समेत अनुसन्धान गरेको शर्माले जानकारी दिए ।

गत साउनमा समेत भएको थियो यस्तै घटना

यसअघि गत साउनमा समेत पोखरामा बिमा रकम लिन आफनै पसलमा आगजनी गरेको आरोपमा प्रहरीले पसल सञ्चालकसँगै उनलाई साथ दिने अर्को एक व्यक्तिलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा पसल सञ्चालक पोखरा महानगरपालिका–१७ ड्यामसाइड बस्ने ३६ वर्षिय सुजन गहतराज र उनका साथी पोखरा–१७ बिरौटा बस्ने ४३ वर्षिय पवन नेपाल थिए ।

पोखरा–६ नारेश्वरचोकस्थित डा. थानेश्वर पहारीको घर भाडा लिई सुजनले मुक्तिनाथ सपिङ्ग सेन्टर प्रालि सञ्चालन गर्दै आएका थिए । पसलमा १६ साउन बिहान २ः१० बजेतिर आगलागी भएको सूचनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयले दमकलको सहायतामा बिहान ३ः०५ बजेतिर आगो नियन्त्रणमा लिएका थिए ।

घटनापछि सञ्चालक गहतराजले प्रहरीसँगको प्रारम्भिक बयानमा आफुले पसलमा नयाँ ईन्भटर जडान गरेको र सोही ईन्भटरको वाईरिङ सर्ट भई आगो लागेको बताएका थिए । साथै पसलको बिमा समेत नगरेको जनाएका थिए ।

अनुसन्धानको क्रममा पसलमा आगो लागेको एक महिना अघि १५ असारमा हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेड पोखरा शाखाबाट गहतराजले पसलको दुई करोड १० लाखको बिमा गरेको भेटिएको थियो । आगो लागेको भोलिपल्टै उनले सपिङ्ग सेन्टरमा आगलागी भएको बारे अनुसन्धान गर्न वडा प्रहरी कार्यालय पोखरा–६ बैदाममा निवेदन दिएका थिए । सोही दिन उनले बिमा दावीको लागि ईन्स्योरेन्स कम्पनीमा निवेदन समेत दिएका थिए । अनुसन्धानपछि उनीहरू आफैले पसलमा आगो लगाएको खुलेपछि २० साउनमा प्रहरीले पक्राउ गरेको थियो ।

सुझावित समाचार