अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोग तथा जुवा/सट्टाबाजी गरेको आरोपमा प्रहरीले पोखराबाट पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको जलजला गाउँपालिका– ३ का रूपेन्द्र जिसी, म्याग्दीको बेनी नगरपालिका– ५ का विक्रम बानियाँ, म्याग्दीकै रघुगंगा गाउँपालिका– २ का रोजन केसी, म्याग्दीकै बेनी– २ का सज्जन घिमिरे र म्याग्दी रघुगंगा– २ का सन्दीप कटुवाल छन् ।
पोखरा महानगरपालिका– १४ अनुपम टोलमा शंकास्पद गतिविधि भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाको कमान्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । रूपेन्द्र जिसीको साढे तीन तलाको घरबाट प्रहरीले क्रिप्टोकरेन्सी कारोबार, अनलाइन जुवा÷सट्टाबाजीमा प्रयोग गरिएका विभिन्न इलेक्ट्रोनिक डिभाइस फेला पारेको ओलियाले बताए । अनुसन्धानका लागि उनीहरूलाई आइतबार नै जिल्ला अदालत कास्कीबाट सात दिन म्याद थप भएको छ ।
प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाहरूले ३० करोडको कारोबार गरेको प्रहरीले जानकारी दिएको छ । प्रमुख ओलियाका अनुसार उनीहरूले ह्वाट्सएप, टेलिग्राम, क्यासएप, चिमिएप, युएसडिटीमार्फत तत्काल उपलब्ध तथ्यांकअनुसार ग्याम्बलिङअन्तर्गत १५ करोड र अभौतिक मुद्रा १५ करोड गरी ३० करोड कारोबार गरेका छन् । उनीहरूले दैनिक तीन सिफ्ट खेलाउने र कम्तीमा एक सिफ्टको तीन हजार अमेरिकी डलरको दरले अनलाइन ग्याम्बलिङ गराउने गरेको भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलिया भन्छन् – उनीहरूले ह्वाट्सएप, टेलिग्राम, क्यासएप, चिमिएप, युएसडिटीमार्फत तत्काल उपलब्ध तथ्यांकअनुसार ग्याम्बलिङअन्तर्गत १५ करोड र अभौतिक मुद्रा १५ करोड गरी ३० करोड कारोबार गरेका छन् ।
पक्राउ पर्नेहरू पिएचडी गर्दै गरेकादेखि आइटी इन्जिनियर र व्यापारी पृष्ठभूमिका रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले बताए । पक्राउ परेका पाँचमध्ये मुख्य नाइके रूपेन्द्र जिसी रहेको र अन्य चारजना उनका आफन्त रहेको खुलेको छ । आइटी इन्जिनियरिङमा पिएचडी गर्दै गरेका रूपेन्द्र १० वर्षदेखि अमेरिका बस्दै आएकामा एक महिनाअघि मात्रै छुट्टीमा नेपाल आएका थिए ।
बानियाँ रूपेन्द्रका फुपूका छोरा हुन् । उनको पोखराको चिप्लेढुंगामा फेन्सी पसल छ । स्नातक दोस्रो वर्षमा पढ्दै गरेका रोजन केसी रूपेन्द्रका सानीआमाका छोरा हुन् । स्नातक चौथो वर्षमा पढ्दै गरेका सज्जन घिमिरे रूपेन्द्रका फुपूका छोरा हुन् भने कन्सल्टेन्सी सञ्चालक सन्दीप कटुवाल रूपेन्द्रका बहिनीज्वाइँ हुन् । रूपेन्द्रले अमेरिकामा बसेर अपरेटिङको काम गर्दै आएका थिए भने नेपाल एजेन्सीका रूपमा विक्रम र सन्दीपले काम गर्दै आएको पाइएको प्रहरीले जनाएको छ । रोजन र सज्जनले बैंक खाताको अपरेटरको काम गर्थे । उनीहरूले विभिन्न २७ प्लाटफर्म प्रयोग गर्दै जुवा खेलाउने गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले मोबाइल फोन ३१ थान, कम्प्युटर मनिटर दुई थान, कम्प्युटर सिपियू तीन थान, ल्यापटप चार थान, आइप्याड एक थान, किबोर्ड दुई थान, माउस एक थान, राउटर चार थान, पेनड्राइभ तीन थान, हार्डडिक्स एक थान, मल्टिप्लक एक थान, चार्जर ११ थान, युएसबी पोर्टसहितको स्टेन्ड एक थान, स्ट्याम्प छाप एक थान बरामद गरेको प्रवक्ता शर्माले बताए ।