लालझाडीका ग्रामीण बस्तीमा सेनाको निःशुल्क स्वास्थ्य शिविर

शनिबार, २४ फागुन, २०८१
डिजिटल संस्करण

कञ्चनपुरको दक्षिणी ग्रामीण क्षेत्र लालझाडी गाउँपालिकामा नेपाली सेनाले विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सेनाको सुदूरपश्चिम पृतना अन्तर्गत कञ्चनपुरको २५ नम्बर बाहिनीले शनिबार लालझाडी गाउँपालिका– २ कञ्जगाउँमा शिविर सञ्चालन गरेको हो । 

सेनानी आकास बस्नेतले स्वास्थ्य शिविरबाट ८३४ नागरिकले सेवा लिएको बताए । उनका अनुसार सेवा लिनेमा ५१६ महिला र ३१८ पुरुष छन् । 

११ सेना र ६ महाकाली अस्पतालका विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीहरूबाट सेवा प्रदान गरिएको थियो । शिविरमार्फत फिजियोथेरापी, छाला तथा यौनरोग, अर्थोपेडिक, भिडियो एक्सरे, दन्त, स्त्री, बाल रोग, नाक, कान, घाटीलगायत चेकजाँच एवं उपचार सेवा प्रदान गरिएको थियो । साथै सेनाले अपाङ्गता भएकाहरूलाई बैशाखी, ह्वीलचियर समेत वितरण गरेको छ । 

महाकाली अस्पतालका निमित्त मेसु डा. अर्जुन भट्टले सेनाले यसरी ग्रामीण भेगमा सञ्चालन गरेको शिविरबाट नागरिकलाई विशेषज्ञ सेवा पुगेको बताए । लालझाडी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले पालिकासहित सरोकारवालासँग मिलेर सेनाले सञ्चालन गरेको कार्यक्रमले नागरिकहरू लाभान्वित भएको बताए।

२५ नम्बर बाहिनीका बाहिनीपति सहायक रथी माधव थापाले नागरिक र सेनाबिचको सम्बन्ध विस्तारका साथै समाजिक उत्तरदायित्व बहनका लागि कार्यक्रम गरिएको बताए । 

शिबिर अघि नेपाली सेनासम्बन्धी वृतचित्र प्रस्तुत, लागु औषध नियन्त्रणसम्बन्धी सचेतना कक्षा, मानव वन्यजन्तुबिच द्वन्द्व न्यूनिकरणका लागि वृतचित्र प्रस्तुितका साथै   लालझाडीका सार्वजनिक क्षेत्रमा सरसफाइ, माइन जोखिम सचेतना, युवा सचेतना, महाकाली मावि र श्रीदल गुल्मबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता भएको थियो । 

सुझावित समाचार