मधेशी जनताको पहिचान, अधिकार र रूपान्तरण समग्र देशकै मुद्दा हो : प्रचण्ड

शुक्रबार, २३ फागुन, २०८१
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेशी जनताले भोगेको विभेद र अपमान मधेशको मात्रै नभई समग्र देशकै मुद्दा रहेको बताएका छन्।

जनतासँग माओवादी, तराई मधेश जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले मधेशी जनताको पहिचान, अधिकार र आर्थिक–सामाजिक रुपान्तरण देशकै मुद्दा भएको धारणा राखेका हुन्।

मधेशका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यसहित माओवादीले अभियान सुरु गरेपछि अन्य प्रमुख दलका मुख्य नेता र राष्ट्रिय मिडियाको ध्यान मधेशतिर केन्द्रित हुन थालेको उल्लेख गर्दै उनले यसले मधेशका समस्या पहिचानमा फाइदा नै पुग्ने बताए।

झापाबाट सुरु भएको अभियान सर्लाही पुग्दासम्म जनतामा ठुलो उत्साह देखिएको बताउँदै उनले यो अभियान कञ्चनपुर पुगेर सकिँदासम्म तराई मधेश जुरुक्कै उठ्ने विश्वास व्यक्त गरे।

समावेशिताको बढी आवश्यकता मधेशी समुदायलाई भएको र यसको नेतृत्वकर्ता माओवादी भएकाले अब माओवादी र मधेशी जनताको एकता अपरिहार्य र अनिवार्य भइसकेको प्रचण्डको जिकिर छ। अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेश प्रदेशको नामकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेशी जनता एक ठाउँमा केन्द्रित नभए प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत गराए।

राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्गकेन्द्रित राजनीतिक अभियान सुरु गरिएको उल्लेख गर्दै उनले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक–सामाजिक जीवनमा परिवर्तन ल्याउनु रहेको स्पष्ट पारे।

सुझावित समाचार