ठेकेदारले सडक बनाउन अलपत्र पारेपछि पाँच दिनदेखि सडकमै वडा कार्यालय संचालन गरेका वडाध्यक्ष अर्जुन सिंह साउदले शुक्रबारदेखि नियमित कार्यालयमै सेवा प्रवाह गरेका छन् । गत आइतबारदेखि कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिंह साउदले विरोदस्वरुप सडकमै वडा कार्यालय संचालन गरेका थिए । ठेकेदार सडक निर्माणमा लागेपछि नियमित कार्यालयबाट सेवा प्रवाह गरेका हुन् ।
कृष्णपुर नगरपालिका २ बंक चोकदेखि दोमिल्ला हुँदै नायलसम्म झण्डै ७ किलोमिटर सडक अलपत्र पारेपछि वडाध्यक्ष साउद आफैँ आन्दोलनमा उत्रिएका थिए । वडाध्यक्षले अघि सारेको सृजनात्मक आन्दोलनमा जनसमर्थन बढ्दै गएपछि पूर्वाधार विकास कार्यालयले ठेकेदार सम्पर्कमा ल्याएको थियो । बिहीबार वडाध्यक्ष साउद, पूर्वाधार विकास कार्यालयका प्रमुख योगेन्द्र प्रशाद अधिकारी र निर्माण कम्पनीका प्रतिनिधीविच काम सुचारु गर्ने सहमति भएको थियो । ठेकेदारले कार्यालयमा गरेको सहमतिअनुरुप सडक बनाउन थालेपछि वडाध्यक्ष साउदले आन्दोलन स्थगित गरेर नियमित काम वडाबाटै संचालन गरेका छन् ।
चार वर्षअघि सन्तोषी थेगिम जेभीले उक्त सडक कालोपत्रेको ठेक्का पाएपनि हालसम्म निर्माण गर्न नसक्दा सडक बिगिँ्रदै गएकाले सर्वसाधारण जनतालाई आवातजावतमा समस्या परेको भन्दै वडाध्यक्ष साउदले सडक सुरुवात बिन्दु बंकमै टेबुल राखेर सेवा प्रवाह गरिहेका थिए । ‘मैले व्यक्तिगत र वडा कार्यालयका तर्फबाट यथाशिघ्र सडक निर्माणका लागि पटक पटक सम्बन्धी निकायको ध्यानाकर्षण गराएको थिए, ‘उनले भने, ‘चासो नै दिएनन्, अहिले सडक सुचारुका लागि दवावमुलक नयाँ शैली अपनाएर आन्दोलनमा उत्रिएको छु,सडकबाटै सेवा प्रवाह गरिरहेको थिए, ठेकेदारले काम गरेपछि रोकेको छु ।’ वडाध्यक्ष साउदले ठेकेदार कम्पनीबाट ढिलाई भए फेरि आन्दोलन गर्ने चेतावनी दिए।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रमुख योगेन्द्र अधिकारीले ठेकेदारबाट तोकिएकै समयमा काम सक्ने प्रतिबद्धता अनुरुप सडकमा बेस निर्माण कार्य अघि बढाएको बताए । आगामी ०८२ चैत्रसम्म म्याद रहेको उक्त सडक पटक २०साउन ०७७मा ठेक्का भई २० बैशाख ०८१मा सकिएको थियो। पहिलो पटक ३० चैत्र ०८२सम्म म्याद थप भएपनि सडक निर्माण कार्य पुरा भएको छैन। उक्त सडकको प्रगति ३५ प्रतिशत मात्रै भएको छ। झण्डै ११ करोड ८६ लाख रुपैयाँमा ७ किलोमिटर कालोपत्रे सडक निर्माण चार वर्षदेखि अलपत्र पारेपछि स्थानीय समेत हैरान भएका छन्। विकासका लागि सृजनात्मक दवावमुलक कार्यालय र ठेकेदारलाई नैतिक जिम्मेबार बनाउने वडाअध्यक्ष साउदको आन्दोलन प्रभावकारी भएको नागरिक समाजको बुझाई छ।