पशुपतिनाथ मन्दिरमा दुध चढाउन गाई पाल्न थालेको मारवाडी सेवा समितिले पछिल्लो समय मन्दिरमा निकै कम दुध चढाएर व्यापार गर्न थालेकामा आलोचना भइरहेको छ । गौशालामा पालिएका गाईबाट उत्पादित दुधमध्ये समितिले करिब चार सय लिटर दुध उपभोक्तालाई बेच्छ । दैनिक ४५० लिटर उत्पादन भएको दुधमध्ये पशुपतिनाथमा दैनिक २९ लिटर चढाइन्छ । राम मन्दिर र अन्य साना मन्दिरमा १० लिटर चढाइन्छ । बाँकी दुध बेच्ने गरेको समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालले बताए ।
स्रोतका अनुसार दुध बेचेर समितिले मासिक १० लाखभन्दा बढी आम्दानी गर्छ । तर, समितिले भने दुध बेचेर गाई पाल्न पनि नपुग्ने दाबी गर्दै आइरहेको छ । कतिपयले समितिले पशुपतिनाथ मन्दिरमा पातलो दुध चढाएर व्यापार गरिरहेको आरोप लगाइरहेका छन् । समिति तथा पशुपति क्षेत्र विकास कोषका कतिपय कर्मचारीको घरमा शुद्ध दुध पुर्याउने गरिन्छ ।
पशुपति क्षेत्र विकास कोषले समेत मारवाडी सेवा समितिद्वारा सञ्चालित गाई फार्म र दुधको लेखाजोखा राख्न सकेको छैन । साथै, पशुपतिनाथ मन्दिरमा चढाएको दुधको अनुगमन गरेको छैन । ‘हामीले पालेका गाईबाट उत्पादन भएको दुध मन्दिरमा चढाउँछौँ, बाँकी दुध उपभोक्ताकहाँ जान्छ, जसलाई जति चाहिएको छ त्यति लैजानुहुन्छ,’ अग्रवालले भने, ‘त्यसको हिसाबकिताब स्पष्ट छ, कतिपयलाई निःशुल्क पनि दुध वितरण गरेका छौँ, दुध बेचेको पैसाले गाई पाल्न पुग्दैन ।’
हाल पशुपति धर्मशालाभित्र २५० वटा गाई पालिएको छ । त्यसमध्ये ६० वटा गाईले ४५० लिटर दुध दिन्छन् । अन्य ३० भन्दा बढी गाई गर्भवती हुने अवस्थामा छन् । समितिले यस क्षेत्रमा वि.सं १९९७ देखि नै गाई पाल्न थालेको अध्यक्ष अग्रवालले बताए । उनका अनुसार सुरुमा थोरै गाई थिए भने दुध पनि थोरै उत्पादन हुन्थ्यो । तर, गाईको संख्या बढ्दै जाँदा समितिलाई गाई पाल्न पनि हम्मेहम्मे छ । पछिल्लो समय समितिले केही दुधालु गाईसमेत पाल्न थालेको छ । तर, अधिकांश गाई भने स्थानीय जातकै रहेको समितिले दाबी गरेको छ ।
स्रोतका अनुसार मुख्यतः बत्तीसपुतली, गौशाला क्षेत्रका स्थानीयले धर्मशालाको दुध उपभोग गर्छन् । त्यस्तै, बिहानबेलुकी मारवाडी सेवा समितिका अध्यक्ष प्रमोदकुमार अग्रवालका घरमा समेत पठाइन्छ । यसबाहेक समितिका कर्मचारीहरूकहाँ पनि धर्मशालाको दुध पुग्छ । धर्मशालाको इतिहास ८४ वर्ष पुरानो छ । त्यतिवेला तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरले मारवाडी समाजका रामकुमार मारवाडीसहितका व्यक्तिलाई बोलाएर गौशाला एवं धर्मशाला बनाएर सञ्चालन गर्न जग्गा उपलब्ध गराएका थिए ।
केही वर्षपछि पशुपति क्षेत्र विकास कोषसँगको सहकार्यमा समितिले धर्मशाला सञ्चालन गरेबापत कोषलाई वार्षिक ५१ हजार रुपैयाँ बुझाउँदै आएको थियो । पछिल्लोपटक मारवाडी सेवा समितिसँग कोषले १२ जेठ ०६० मा थप सेवा उपलब्ध गराउनेबारे सम्झौता गरेको थियो । तर, उक्त सम्झौता १७ साउन ०८० मा कोषले एकतर्फी निर्णय गरी भंग गरेको थियो । २४ साउन ०८० मा कोषको निर्णयविरुद्ध समिति काठमाडौं जिल्ला अदालत पुग्यो । तर, समितिको दाबी नपुग्ने भनी १६ असोजमा अदालतले सुनुवाइ गरेपछि त्यसको कार्यान्वयनका लागि कोषले महानगरलाई अनुमति दिएको थियो ।
दाना र घाँसमा वार्षिक ६० लाख खर्च
गौशाला क्षेत्रमा गाई पाल्न सजिलो भने छैन । गाईको दाना र घाँसमा मात्रै वार्षिक ६० लाखभन्दा बढी खर्च हुन्छ । गाई हेरचाहका लागि २२ जना गौसेवक छन् भने चारजना पशु चिकित्सक छन् । यसबाहेक धर्मशालाभित्र रहेका अन्य कार्यक्रम सञ्चालनका लागि ६० जनाभन्दा बढी कर्मचारी छन् । उनीहरूको तलबमा वार्षिक २० लाखभन्दा बढी खर्च हुन्छ । गौशाला धर्मशालाको कार्यालय र आसपासका संरचना समितिले निर्माण गरेको थियो । यी संरचनामा १८ वटा सटर पनि छन् भने १७ सटर हाल भाडामा लगाइएको छ । तर, सटर भाडामा दिँदा अनियमितता गरेको आरोप समितिलाई लागेको छ ।
समितिले मासिक १५ हजार रुपैयाँहाराहारीमा सटर भाडामा दिएको छ । तर, गौशालाजस्तो महँगो ठाउँमा समितिले १५ हजारमा सटर भाडामा दिइएको भन्दै आलोचना हुने गरेको छ । समितिले हाल धर्मशालामा वास बस्दा सामान्य कोठाको चार सय रुपैयाँ लिने गरेको छ । निःशुल्क सेवा दिने भनेर खोलिएको धर्मशालाले होटेल नै बनाएपछि चर्को विरोध हुने गरेको छ । यसअघि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पे्रम आलेले धर्मशालामा होटेल सञ्चालन रोक्न खोजे पनि असफल भएका थिए ।
धर्मशाला क्षेत्रमा स्नान गर्न तथा गल्लीमा म्याट बिछ्याएर बस्नसमेत निःशुल्क छ । तर, पछिल्लो समय महानगरपालिकाले समितिलाई हटाउने विषयमा विवाद हुँदा हाल धर्मशाला बन्द छ । धर्मशालाले यसबाहेक डायलाइसिस सेवा र अपांगता भएका व्यक्तिका लागि कृत्रिम खुट्टा तथा अन्य उपकरण निःशुल्क दिने गरेको छ । दैनिक ९० जनाहाराहारीले निःशुल्क रूपमा डायलाइसिस सेवा लिन्छन् भने वार्षिक रूपमा दुई सयभन्दा बढी व्यक्तिले कृत्रिम खुट्टा तथा अन्य उपकरण सेवा लिएको समितिले जनाएको छ ।
कार्यालय व्यवस्थानपन, डायलाइसिस, गाईलाई दानापानी, बिजुलीको बिल, कर्मचारी खर्चलगायत गरी वार्षिक रूपमा २५ करोडहाराहारी खर्च हुने समितिको दाबी छ । पशुपति धर्मशालामा गाईको संख्या अधिक भएपछि यहाँबाट लगेर मारवाडी सेवा समितिले धादिङको धार्केमा गाईपालन गरेको छ । यहाँ खासगरी बाच्छाबाच्छी र वृद्ध गाई राखिएका छन् । त्यहाँ राखिएका केही गाईले दुध पनि दिन्छन् । उत्पादित दुध धादिङमै बेचिन्छ । धार्केमा राखिएको फार्ममा २५ जना कर्मचारी छन् । काठमाडौं धर्मशालामा राखिएका गाईलाई समेत धार्केबाटै दिनहुँ घाँस ल्याउने गरिन्छ ।
कोषले सञ्चालन गरेको धर्मशाला बन्द
मारवाडी सेवा समितिले सञ्चालन गरेको धर्मशाला व्यवस्थित नभएको भन्दै प्रश्न उठाइरहेको पशुपति क्षेत्र विकास कोषले सञ्चालन गरेको वनकाली धर्मशालाको अवस्था दयनीय छ । पशुपति क्षेत्रमा दुईवटा धर्मशालामध्ये एउटा मारवाडी सेवा समितिद्वारा सञ्चालित र अर्को कोषद्वारा सञ्चालित धर्मशाला हो । तर, कोषले सञ्चालन गरेको धर्मशाला बन्द छ । दुईतले वनकाली धर्मशाला अहिले रित्तो छ । यो धर्मशालामा दैनिक सयभन्दा बढी मानिस बस्न मिल्छ ।
०७२ को भूकम्पले चर्काएपछि बन्द धर्मशाला कोषले सञ्चालन गर्न सकेको छैन । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले ०७२ को भूकम्पपछि धर्मशाला बन्द रहेको बताए । ‘हामीले सञ्चालन गरेको धर्मशाला ०७२ देखि बन्द छ, त्यसमा बस्न मिल्दैन, त्यसलाई पुनर्निर्माण गर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘मारवाडी सेवा समितिले सञ्चालन गरेको धर्मशालाको विषय के हुने हो थाहा छैन ।’ उनले महानगरले लिने वा हालकै अवस्थामा धर्मशाला सञ्चालन हुने भन्ने विषय टुंगोमा नरहेको जानकारी दिए ।
प्रमोदकुमार अग्रवाल, अध्यक्ष, मारवाडी सेवा समिति
पालिएका गाईबाट उत्पादन भएको दुध मन्दिरमा चढाउँछौँ, बाँकी दुध उपभोक्ताकहाँ जान्छ, जसलाई जति चाहिएको छ त्यति लैजानुहुन्छ । त्यसको हिसाबकिताब स्पष्ट छ, कतिपयलाई निःशुल्क पनि दुध वितरण गरेका छौँ, दुध बेचेको पैसाले गाई पाल्न पुग्दैन ।