संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोज गुरागाईंलाई नै प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गर्न दिन भनेपछि काठमाडौं महानगरपालिकाले निमित्तलाई आर्थिक अधिकार दिन आग्रह गरेको छ।
काठमाडौं टावरको विषयमा त्रुटिपूर्ण कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउँदा सो परियोजनासहित अन्य कार्यहरूमा समेत नकारात्मक प्रभाव पर्नुका साथै कानुनी झन्झट पर्ने स्पष्ट पार्दै महानगरले निमित्तलाई आर्थिक अधिकार दिन आग्रह गरेको हो।
महानगरले गुरागाईंलाई काम गर्न दिँदा पर्ने कानुनी झमेलाको जिम्मा लिन वा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्नसमेत मन्त्रालयलाई अनुरोध गरेको छ।
‘...आधिकारिक तहमा विचाराधीन रहेको विषयमा त्रुटिपूर्ण कार्य गर्ने प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराएमा सो परियोजनालगायत अन्य कार्यसमेतमा नकारात्मक प्रभावका साथै कानुनी झन्झट पर्ने भएकोले सो जिम्मा लिई वा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ संशोधन गर्न वा अर्को प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नहुन्जेलसम्मका लागि निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई आर्थिक अधिकार दिई कार्यालय सुसञ्चालनमा सहयोगको लागि श्री संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा अनुरोध गरी पत्राचार गर्ने भनी २०८१/११/२२ मा प्रमुखस्तरीय निर्णय भएकोले सोअनुसार हुन अनुरोध गरिन्छ,’ महानगरले भनेको छ।
